INSEC Online

📅 २०८३ जेष्ठ २१

नागरिकको स्वास्थ्य परीक्षण तीन गुणा मंहगो, नियमनकारी निकाय मौन

नागरिकको आधारभूत स्वास्थ्य सेवाको जिम्मेवारी सरकारको भएपनि स्वास्थ्य क्षेत्रमा देखिएको अराजकताका कारण नागरिकले निकै सास्ती, हैरानी र लागनी गर्नु परेको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विभिन्न रोग परीक्षणका लागि शुल्क निर्धारण गरेको छ । सरकारी निकायले निर्धारण गरेको शुल्क वीरगंजका सरकारी प्रयोगशालाले समेत मानेका छैनन् ।

वीरगंजको नारयाणी अस्पतालमा रहेको प्रयोगशालाले मधुमेह रोगको परीक्षण गरेको १ सय रुपियाँ लिने गरेको छ । तर, जनस्वास्थ्य प्रयोगशालाले परीक्षण शुल्क २५ रुपियाँ निर्धारण गरेको छ ।

नारायणी अस्पतालमा रहेको प्रयोगशालाले लिने शुल्क राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले लिने शुल्क भन्दा चार गुणा बढी छ ।

स्वास्थ्यलाई मौलिक हकको रूपमा संविधानमा नै व्यवस्थित गरिएको छ । तर, स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रयोगशालाले तोकेको शुल्कको प्रतिकूल हुने गरी अन्य सरकारी स्वास्थ्य संस्थाहरूले मनोमानी रूपमा शुल्क लिँदै आएका छन् ।

सरकारी अस्पतालले नै मन्त्रालयको आदेश पालना नगरेपछि वीरगंजका निजी अस्पताल र प्रयोगशालाहरूले मधुमेहको परीक्षण शुल्क मनोमानी रूपले लिने गरेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ब्लड कल्चरको परीक्षण १ सय २५ रुपियाँ, पिसाब जाँच २५ रुपियाँ मात्र हुन्छ । तर, वीरगंजमा सोही परीक्षणको तीन गुना बढी शुल्क लिने गरिएको छ ।

प्रयोगशालामा एचआइभी परीक्षण १ सय ५० रुपियाँमा गरिन्छ भने वीरगंजमा ५ सय रुपियाँ तिर्नुपर्छ । राष्ट्रिय प्रयोगशालामा ५ सय रुपियाँमा थाइराइड परीक्षण हुन्छ तर वीरगंजमा १ हजार ५ सय रुपियाँसम्म लिने गरेको पाइएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले २ सय ८० भन्दा बढी विभिन्न परीक्षणको शुल्क निर्धारण गरेको छ तर वीरगंजका कुनै पनि प्रयोगशालाले शुल्क निर्धारण गरेको पाइएको छैन । वीरगंजमा यसो नहुनुको मुख्य कारण परीक्षण शुल्कमा चिकित्सकहरूको कमिशन समावेश हुनु हो ।

चिकित्सकहरूले प्रयोगशालामा बिरामीलाई विभिन्न रोगको परीक्षण गर्न लेखी पठाए बापत सबै प्रयोगशालाको चिकित्सकलाई दिने कमिशनको रेट भिन्दा भिन्दै छ । कम्तीमा ३० र बढीमा ७० प्रतिशत कमिशन चिकित्सकले लिने गरेको नाम उल्लेख नगर्ने शर्तमा एक प्रयोगशाला सञ्चालकले बताउनु भयो ।

चिकित्सकलाई कमिशन दिनुपर्दा सोको मार बिरामीले भोग्नुपरेको उनीहरूको भनाइ छ । क्लिनिक सञ्चालन गरेका चिकित्सकहरूले सबैभन्दा बढी कमिशन बुझ्ने गर्छन ।

आफ्नै क्लिनिक चलाउने चिकित्सकहरूले प्रयोगशाला सञ्चालकहरू सँग कमिशनको कुरा मिलाएर बिरामीलाई अनावश्यक परीक्षण गराउन बाध्य पार्ने गरेको अर्का एकजना प्रयोगशाला सञ्चालकले बताउनु भयो । स्वास्थ्य क्षेत्रमा सबै धन्दा बढी मुनाफा आर्जन हुने क्षेत्र नै प्रयोगशाला र औषधिको बिक्री वितरण हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कार्यक्षमता अनुसार प्रयोगशालाहरूलाई पाँच श्रेणीमा वर्गीकरण गरेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दर्ता रहेको ‘ए’ श्रेणीको प्रयोगशाला वीरगंजको मङ्गलम डाइग्नोस्टिक सेन्टर हो ।

यसबाहेक ‘बी’ श्रेणीमा भिजन डाइग्नोस्टिक, तराई हस्पिटल एन्ड रिसर्च सेन्टर, नारायणी सेन्ट्रल डाइग्नोस्टिक लेबोरेट्री, ‘सी’ श्रेणीमा एनएमसी पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर, वीरगंज ओम हस्पिटल प्रालि र ‘डी’ श्रेणीको प्रयोगशालामा इलाइट प्याथोलोजी ल्याब, ओम प्याथोलोजी सेन्टर, अर्चिता डाइग्नोस्टिक सेन्टर, अर्पिता डाइग्नोस्टिक एन्ड रिसर्च सेन्टर र श्रीराम डाइग्नोस्टिक सेन्टर छन् । यी बाहेक वीरगंजमा सबै ‘ई’ श्रेणीका प्रयोगशालाहरू हुन् ।

सबै प्रयोगशालाले वर्गीकरण अनुसार सेवा र शुल्क निर्धारण गर्नुपर्छ । यसको नियमन जिल्ला जनस्वास्थ्य कार्यालयले गर्नुपर्ने जिम्मेवारी पनि तोकिएको छ । तर सो कार्यालयले झारा टार्ने तरीकाले काम गर्दै आएको कारण अहिलेसम्म यो क्षेत्रमा विकृति मौलाएको छ ।

वीरगंज मनपा स्वास्थ्य महाशाखा प्रमुख अरूण महतोलाई यी समस्याहरूको बारे अवगत गराउँदा सबै प्रयोगशालाहरूलाई नियमन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

अन्य

भिडियो