INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीले हिरासतमा यातना दिएको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूको आरोप

इन्सेक र पत्रकारहरूको संयुक्त टोलीले मङ्सिर ३० गते जिल्ला प्रहरी कार्यालय, बाजुराको हिरासत अनुगमन गरेको छ ।

हिरासतमा राखिएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूलाई प्रहरीले यातना दिएको सूचनाका आधारमा इन्सेक जिल्ला प्रतिनिधि पदमबहादुर सिंह, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बाजुराका अध्यक्ष प्रकाशबहादुर सिंह, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बाजुराका सचिव प्रेम बिकलगायतको टोलीले जिल्ला प्रहरी कार्यालय,बाजुरको हिरासत अनुगम गरेको हो ।

हिरासत अनुगमनका क्रममा हिरासतमा राखिएका प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले आफूहरूलाई प्रहरीले शारीरिक र मानसिक यातना दिएको बताएका छन् ।

प्रहरीले गिरफ्तार गरी सामान्य स्वास्थ्य परीक्षणपश्चात हिरासतमा राखी रक्ताम्य हुने गरी कुटपिट गरेको प्रतिबन्धित नेकपाका केन्द्रिय सदस्य रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका–३ जिनावाङ घर भएका चुडामणी ओलीले अनुगमन टोलीलाई बताउनु भयो ।

उहाँले भन्नुभयो–‘मलगायत अन्य १५ जना साथीहरूलाई हिरासतमा चरम यातना दिइएको छ । हिरासतमा राखेको ३९ दिन भयो । वकिललाई समेत भेट गर्न दिएको छैन । परिवारका सदस्यहरूसँग भेटघाट र फोन गर्न पनि दिइएको छैन ।समान्य स्वास्थ्य परीक्षणपछि प्रहरीले रक्ताम्य हुने गरी कुटपिट गर्‍यो ।’

हिरासतमा राखिएका प्रतिबन्धित नेकपाका कार्यकर्ता हिमाली गाउँपालिका–१ बिच्छायाका धर्मसिंह बोहोराको घुँडामुनी गहिरो चोट लागेको छ ।

हिरासत भित्रै प्रहरीले कुटपिट गर्दा आफ्नो घुँडालगायत शरीरको अन्य अङ्गमा चोट लागेको बोहराले बताउनु भयो ।

पुरूष प्रहरीले हिरासत भित्रै शारीरिक यातना दिएको हिरासतमा राखिएकी प्रतिबन्धित नेकपाकी कार्यकर्ता स्वास्मी कार्तिक खापर गाउँपालिका–१ की अस्मिता बिकको आरोप छ ।

उहाँले भन्नुभयो–‘हामीसँग प्रहरीले बयान लिन्छन् । तर, पढेर सुनाउँदैनन् । जबरजस्ती कागजमा हस्ताक्षर गर्न लगाउँछन् ।’

हिरासत अनुगमन लगत्तै अनुगमन टोलीले जिल्ला प्रहरी कार्यालय, बाजुराका डिएसपी उद्धबसिंह भाटलाई भेटी हिरासतमा यातना दिएको, कसैसँग पनि भेटघाट गर्न नदिएको र सञ्चालको हकबाट वञ्चित गराइएको भन्ने विषयमा छलफल गर्दा प्रहरीले कसैलाई पनि यातना नदिएको उहाँले बताउनु भयो ।

अधिवक्ता पुर रावतले प्रहरीले हिरासतमा कुनै प्रकारको पनि यातना दिन नमिल्ने बताउँदै यदि यातना दिइएको हो भने प्रहरीमाथी नै कानुनी प्रक्रिया अगाडि बढाउन सकिने बताउनु भयो ।

प्रतिबन्धित नेकपाका केन्द्रिय सदस्य चुणामणी ओलीलगायत १५ जना कार्यकर्ताहरूलाई कात्तिक २२ गते गौमुल गाउँपालिका–३ माझपालीबाट प्रहरीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय, बाजुराको हिरासतमा राखी हातहतियार तथा साङ्गठानिक अपराध मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भाटले बताउनु भएको छ ।

अन्य

भिडियो