INSEC Online

📅 २०८३ जेष्ठ २१

औषधि खरिदका लागि टेण्डर भएन, पर्साका स्वास्थ्यचौकीहरू औषधिविहीन

लुत्तो निको पार्न औषधि खोज्दै वीरगंज–२५ श्रीसियाको एक सरकारी विद्यालयका शिक्षक सोही वडाको आदर्शचोकस्थित श्रीसिया हेल्थ पोष्टमा बिहीबार जानु भयो ।

उहाँले स्कावेयल नाम गरेको लुत्तोको औषधि पाउनु भएन । सरकारले स्वास्थ्य चौकीमा निःशुल्क उपलब्ध गराउने ३९ प्रकारको औषधिमध्ये लुत्तोको औषधि पनि एक हो ।

स्वास्थ्य केन्द्रबाट फर्किनु भएका शिक्षकको टिप्पणी थियो नाम मात्रको सरकारी स्वास्थ्य केन्द्र, काम त केही पनि छैन । यो त एउटा प्रतिनिधि घटना मात्र हो ।

स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीहरूले लुत्तोको औषधि कहिले आउँछ भनी किटान गर्न नसकिने भन्दै निजी पसलबाट औषधि किन्नुहोला भन्दै उहाँलाई फर्काएका थिए ।

पर्साको ग्रामीण तहमा रहेका पोखरियामा जिल्ला स्तरीय अस्पताल, बगही, बागेश्वरी र भिखमपुर गरी तीन ओटा प्राथमिक स्वास्थ्य केन्द्र र अन्य ७५ ओटा स्वास्थ्य चौकीहरू रहेका छन् र अधिकांश स्वास्थ्य संस्थाहरूको अवस्था यस्तै छ ।

सरकारी स्वास्थ्य संस्थाहरूमा उपचारका लागि आउने बिरामीहरूको लागि नेपाल सरकारले निःशुल्क औषधिको व्यवस्था गरेको छ ।

स्वास्थ्य चौकीमा ४९ प्रकारका, प्राथमिक स्वास्थ्य केन्द्रमा ५६ प्रकारका र अस्पतालमा ७४ प्रकारका औषधि सर्वसाधारण बिरामीलाई निःशुल्क वितरण गर्नुपर्ने व्यवस्था छ ।

स्वास्थ्य संस्थाहरूमा तोकिएका सबै औषधि उपलव्ध हुँदैनन् ।  स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसिया स्वास्थ्य केन्द्रमा औषधिको अभाव रहेको स्वीकार गर्नुहुन्छ ।

‘औषधि अभाव रहेको हामीलाई पनि थाहा छ तर हाम्रो हातमा केही छैन ।’–उहाँले भन्नु भयो–‘औषधि खरिदको जिम्मा स्थानीय तहको हो ।’

प्रमुख चौरसियाका अनुसार जिल्लाका स्वास्थ्य केन्द्रहरूमा खोप आपूर्ति, टिबी रोगको औषधि र क्षेत्रीय कार्यालयबाट आएको निर्देशन पालना गराउने जिम्मेवारी मात्रै जिल्लालाई छ । बाँकी सबै किसिमका औषधि खरिद गरेर स्वास्थ्य संस्थामा दिने काम सम्बन्धित स्थानीय तहको हो ।

स्वास्थ्य संस्थाका प्रमुख एवम् कर्मचारीहरूलाई काम लगाउने र अनुगमन गर्ने जिम्मेवारीसमेत स्थानीय पालिकाको भएकाले आफ्नो अड्डाको भूमिका खासै नरहेको चौरसियाले बताउनु भयो ।

स्वास्थ्य कार्यालय पर्साका अनुसार जिल्लाका १४ ओटा स्थानीय तहमध्ये कसैले पनि हालसम्म औषधि खरिदको टेण्डर निकालेका छैनन् ।

अन्य

भिडियो