नमोबुद्ध नगरपालिका–८ तल्लो हटियाका ५५ वर्षीय श्यामकृष्ण श्रेष्ठ र ५० वर्षीया पत्नी रुकुमाया श्रेष्ठको शव उनीहरूकै घरमा हत्या गरिएको अवस्थामा कात्तिक १९ गते फेला परेको छ ।
धारिलो हतियार प्रहार गरी पतिपत्नी दुवैको हत्या गरी क्षतविक्षत भएको शवलाई सिरकले छोपेको अवस्थामा श्यामपाटी प्रहरी चौकीका इञ्चार्ज केशव दर्जीको टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालयका एसपी जयराज सापकोटाले बताए ।
रुकुमाया श्रेष्ठको शव घाँटीमा डोरी बेरिएको र दुवै हातका औँलाहरू काटिएको अवस्थामा फेला परेको एसपी सापकोटाले बताए ।
आफ्नै घरमा चिया पसल सञ्चालन गर्दै आएका दम्पतीले कात्तिक १९ गते बिहान ७ बजेसम्म पनि पसल नखोलेपछि घरमै पुगेका स्थानीयले श्रेष्ठ दाम्पत्तिलाई मृत अवस्थामा देखेपछि सोही वडाका वडा सचिव विष्णु श्रेष्ठलाई घटनाबारे बताएका थिए । त्यस लगत्तै सचिव श्रेष्ठले श्यामपाटी प्रहरी चौकीमा खबर गरेको एसपी सापकोटाले बताए ।
घटनास्थलमा पुगेका एसपी सापकोटका अनुसार घटनास्थलमा बियरका बोतल, गाजा र सुर्तीको धुलो छरिएको अवस्थामा भेटिएको र श्रेष्ठ दाम्पत्तिको हत्या कसले र किन गरेको भन्नेबारे खुल्न बाँकी रहेको सापकोटाले बताए ।
कात्तिक १८ गते रातको करिब ८ बजेसम्म पसल खुल्लै रहेको देखेका स्थानीयले रातमा मदिरा सेवन गर्न आएकाहरूले श्रेष्ठ दाम्पत्तिको हत्या गरेको हुन सक्ने आशङ्का गरेका छन् ।
घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले घटनास्थल आसपासबाट पाँच जनालाई गिरफ्तार गरी घटनाबारे अनुसन्धान गरिरहेको र अनुसन्धान पश्चात मात्र उनीहरूको नाम उल्लेख गरिने प्रहरीले जनायो ।
शवको पोष्टमार्टमका लागि कात्तिक १९ गते बनेपास्थित शीर मेमोरियल अस्पतालमा लगिएको र अस्पतालले क्षतविक्षत अवस्थामा रहेको श्रेष्ठ दम्पत्तिको शवको पोष्टमार्टम उक्त अस्पतालमा सम्भव नहुने भनेपछि शवलाई कात्तिक २० गते त्रिविवि शिक्षण अस्पताल काठमाडौँमा पुर्याइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक गिरीले बताए ।