बुढीगङ्गा नगरपालिका–१ अम्कोटका दलित परिवारका अधिकांश बालबालिकाहरू कुपोषणका कारण पीडित भएका छन् ।
अम्कोटमा बस्दै आएका ६० घरपरिवार दलित समुदायको आर्थिक अवस्था कमजोर रहेकाले र स्वास्थ्यसम्बन्धी सचेतना नभएका कारण त्यसको प्रभाव बालबालिकामा पर्न गई कुपोषण भएको हो ।
घरमा बिहान बेलुकीको छाक टार्न समेत धौधौ पर्ने भएकाले सन्तुलित भोजनको अभावमा बालबालिकाहरू कुपोषित भएको हुन सक्ने अम्कोटस्थित दलित समुदायका अगुवाहरूको भनाई छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाजुरा र बह्रमतोला स्वास्थ्य चौकीमा बुढीगङ्गा नगरपालिका–१ अम्कोटकी तीन वर्षीया फुलचना नेपाली मात्रै कुपोषित रहेको तथ्याङ्क रहेको छ । तर, अम्कोटका ६० परिवार दलित समुदायका बालबालिकाहरू कुपोषणबाट पीडित छन् ।
‘फुलचना नेपाली मात्र हैनन् उनकी दुई वर्षकी बहिनी सूचना नेपाली पनि कुपोषणबाट ग्रस्त छन् ।’–आमा मनकला नेपालीले भनिन्–‘फुलचना धेरै कुपोषित भएका कारण स्वास्थ्य चौकी लगेका हौँ ।’
सेतु नेपाली पनि अम्कोटबासी नै हुन् । उनका तीन जना छोरी क्रमशः चार वर्षीया इशिका नेपाली, डेढ वर्षीया बबिता नेपाली र तीन महिनाकी पार्वती नेपाली मध्यम प्रकारको कुपोषणबाट पीडित छन् ।
‘घरमा खान लगाउन पुग्दैन । लगाएको अन्नबालीबाट ३ महिना पनि पुग्दैन । बजारको चामलको भरमा ज्यान जोगाउनु पर्छ ।’–सेतुले भनिन् ।
अम्कोटकी १८ वर्षीया देब नेपालीले भनिन्–‘डेढ वर्षकी छोरी र चार महिनाको छोरा छ । छोरी कुपोषणबाट पीडित छ । पोषिलो खानेकुरा पाइँदैन ।’
६० दलित परिवार रहेको अम्कोटका बालबालिका कुपोषित रहेको स्थानीय तारा नेपालीले बताइन् । उनले भनिन्–‘सामान्य छाक टार्न त धौधौ हुने गरेको छ । पोषणयुक्त आहारको व्यवस्थापन गर्न त टाढाको विषय हो । पोषिलो खानु पर्छ भन्ने चेतना समेत छैन ।’
बुढीगङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक दिपक शाहले गाउँमा कुपोषित बच्चा खोज्दै जाने हो भने धेरै भेटिन सक्ने तर स्वास्थ्य संस्थामा आएका कुपोषित बालबालिकाको मात्र तथ्याङ्कमा राखिएको बताए ।
अम्कोटमा मात्रै नभएर जिल्लाका अन्य गाउँमा पनि धेरै बालबालिकाहरू कुपोषित रहेको उनको भनाई छ । तर, तथ्याङ्कमा भने बालबालिका कुपोषित भएको पाइँदैन ।