INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

धुलिखेल नगरपालिका-१ देवीटरकी ६३ वर्षीया माइलीमाया तामाङलाई घरको भित्तामा ठोकाएर हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय छोरा धावा तामाङ र २४ वर्षीया बुहारी सुन्तली तामाङलाई असार ३१ गते गिरफ्तार गरेको छ ।

असार ३१ गते राति करिब ११ बजे घरयासी विवाद चर्किदैँ जाँदा बुहारीले कुटपिट गर्दै भित्तामा ठोक्काइदिँदा टाउकोमा चोट लागी गम्भीर घाइते भएकी माइलीमायाको उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा लगिएकोमा उपचारका क्रममा बिहान एक बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका इन्स्पेक्टर दीपककुमार रायले बताए ।

मृतक तामाङका ६३ वर्षीय पति आसमान तामाङले आरोपित छोराबुहरी विरूद्ध इलाका प्रहरी कार्यालय बनेपामा साउन १ गते उजुरी दिएको प्रहरीले जनायो ।

आरोपित दुवैलाई साउन १ गते जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर रायले बताए ।

रायका अनुसार इलाका प्रहरी कार्यालय बनेपामा महिला थुनुवा कक्ष नभएकोले आरोपित सुन्तली तामाङलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा राखिएको छ ।

शव पोष्टमार्टमको लागि साउन १ गते टिचिङ अस्पताल पुर्‍याइएको भएपनि पोष्टमार्टम गर्न भने बाँकी नै रहेको इन्स्पेक्टर रायले बताए ।

अन्य

भिडियो