कमैया मुक्ति आन्दोलनका अगुवा तथा मानव अधिकार र सामाजिक न्यायका अभियान्ता दुखुवा थारूको परिवारलाई कात्तिक २२ गते इन्सेकले २५ हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।
इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महतले दुखुवा थारूको मृत्यु भएको १०औँ दिन आज घरमै पुगेर थारुका छोराहरूलाई नगद सहयोग प्रदान गरेका हुन् ।

रकम प्रदान गर्दै संयोजक महतले दुखुवा थारूले आफ्नो जीवनको महत्वपूर्ण समय समग्र मानव अधिकार र सामाजिक न्यायको लागि खर्चिएको बताए ।
स्थानीय अशोक सिग्डेलले दुखुवा थारुले सामाजिक न्यायको आन्दोलनको नेतृत्व गरेको योगदानलाई कदर गर्दै आफुहरूले पनि सहयोग गर्ने बताए । सोही अवसरमा दुखुवाका छोरा सुर्यबहादुर थारुले भने-‘बुवाले गर्नुभएको कामप्रतिको मुल्याङ्कन गरेर सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छौं । र, आफूहरू पनि बाबाको मार्गमा लम्कन्छौ ।’
लामो समयसम्म बिरामी रहेका ६९ वर्षीय दुखुवाको ०७३ कात्तिक १२ गते ढोढरी गाविस-१ स्थित आफ्नै निवासमा निधन भएको थियो । उनले गरिब किसान, मुक्त कमैया र सुकुम्बासीहरूको प्यारो अगुवाको रूपमा परिचय बनाएका थिए ।
कमैया भएर पनि स्वतन्त्रता र मुक्तिको आन्दोलनमा अगुवाइ गर्दै मानव अधिकार र सामाजिक न्यायको लागि महत्वपुर्ण योगदान पुर्याएको मुल्याङ्कन गर्दै दुखुवा थारुलाई इन्सेकले प्रकाश मानव अधिकार पुरस्कार प्रदान गरेको थियो ।
आजै इन्सेकले शोक वक्तव्य जारी गर्दै दुःखुवा थारुले गरिब किसान, मुक्त कमैया र सुकुम्बासीहरूको मुक्ति, गास, बास र कपासको लागि आवाज उठाउनुको साथै आन्दोलनमा अगुवाई गर्दै आएको स्मरण गरेको छ । इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ-‘उहाँको योगदानको कदर गर्दै इन्सेकले २०६४ सालमा प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित गरेको थियो ।’