लगातारको वर्षापछि ०८३ साउन ८ गते राति मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा खसेको पहिरोमा परी तीन वर्षीय बालकको मृत्यु भएको छ। पहिरोमा च्यापिएर तीन वर्षीय रमेश बडुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। घरमाथिबाट ढुङ्गासहितको पहिरो खस्दा होटल व्यवसाय सञ्चालन गर्दै आएको बडुवाल परिवारको घर पुरिएको हो।

छायानाथ रारा नगरपालिका–१३ तिर्प घर भई पुलु बजारमा पेमा लामाको घर भाडामा लिएर होटल सञ्चालन गर्दै आएका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र तीन वर्षीय छोरा रमेश घरमा सुतिरहेका बेला घरमाथिबाट पहिरो खसेको थियो।
घटनामा जगनाथ र सृजनासहित चार जना सामान्य घाइते भएका छन्। पहिरोले बडुवाल परिवार बस्दै आएको घर पूर्ण रूपमा ध्वस्त भएको छ। वरपरका थप तीन घरमा क्षति पुगेको छ भने आठ घर उच्च जोखिममा परेका छन्। प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार तथा राहतको काम भइरहेको छ।
पहिरोले मुगम कार्मारोङ गाउँपालिकाले भाडामा लिएको कार्यालय भवनमा समेत क्षति पुर्याएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुभासचन्द्र रावलका अनुसार पहिरोमा परी औषधि गोदाम, पुराना सरकारी अभिलेख, लेखापरीक्षण सम्पन्न गरी भण्डारण गरिएका श्रेस्ता तथा अन्य महत्वपूर्ण कागजातसमेत बगेका छन्। ती सामग्री कर्णाली नदीमा मिसिएको उहाँले बताउनु भयो।
पालिका भवनमाथिबाट निरन्तर पहिरो खसिरहेकाले कर्मचारीसमेत त्रासमा काम गर्न बाध्य भएको रावलले बताउनु भयो । पालिका भवनमाथि निरन्तर पहिरो झरिरहेको छ। सेवा सञ्चालन गर्नै कठिन भएको छ। कुनै पनि बेला ठूलो क्षति हुन सक्ने जोखिम छ,´उहाँले भन्नुभयो।

पुलु बजार वर्षेनी पहिरोको चपेटामा पर्दै आएको क्षेत्र हो। यसअघि पनि यही क्षेत्रमा खसेको पहिरोमा दुई जनाको मृत्यु भएको थियो। साउन ८ गतेको घटनासँगै पुलु बजारमा पहिरोबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ।
स्थानीयका अनुसार पुलु बजार पहिरोको उच्च जोखिममा रहेकोबारे वर्षौंदेखि सम्बन्धित निकायलाई जानकारी गराउँदै आएपनि स्थायी समाधानका लागि प्रभावकारी पहल हुन सकेको छैन। बस्तीमाथिको भीरका कारण वर्षायाममा स्थानीयवासी त्रासपूर्ण जीवन बिताउन बाध्य छन्।
स्थानीयले मुगम कार्मारोङ गाउँपालिकाको कार्यालयसमेत सुरक्षित स्थानमा सार्नुपर्ने माग गरेका छन्। पुलु बजारलाई पहिरोको दीर्घकालीन जोखिमबाट जोगाउन तत्काल प्रभावकारी योजना नबनाइए आगामी वर्षमा अझ ठूलो मानवीय तथा भौतिक क्षति हुन सक्ने स्थानीयको भनाइ छ। 
