१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले लम्जुङ जिल्ला घर भई हाल तानसेन नगरपालिका–४ मा बस्दै आएका २८ वर्षीय धनराशी बिकलाई २१ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायको ०८३ असार ९ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै २१ वर्ष कैद, ६ लाख रुपियाँ जरिवाना र १ लाख रुपियाँ क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार केशव पराजुलीले बताउनु भयो ।
आरोपितले बालिकालाई ०८२ साउन २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई साउन २३ गते तानसेनबाटै गिरफ्तार गरेको थियो ।
जिल्ला अदालत पाल्पाका तत्कालीन न्यायाधीश दल बहादुर केसीको ०८२ भदौ १६ गतेको इजलाशले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । पीडितको स्वास्थ्य परीक्षण साउन २३ गते पाल्पा अस्पतालमा भएको थियो ।