उच्च अदालत जनकपुरले न्यायिक प्रक्रियामा पारदर्शिता तथा नागरिकको सूचनाको हकलाई थप सुनिश्चित गर्ने उद्देश्यले ०८३ असार ८ गतेदेखि मुद्दाको सुनुवाइ युट्युबमार्फत प्रत्यक्ष प्रशारण सुरु गरेको छ ।
अदालतका मुख्य न्यायाधीश टेक नारायण कुँवरले उपलब्ध प्रविधिको अधिकतम प्रयोगमार्फत न्याय प्रणालीलाई पारदर्शी, जवाफदेही तथा नागरिकमैत्री बनाउन यो व्यवस्था सुरु गरिएको जानकारी गराउनु भयो। बन्द इजलासमा सञ्चालन हुने मुद्दाबाहेक अन्य सबै मुद्दाको बहस तथा सुनुवाइ अब प्रत्यक्ष प्रशारण गरिनेछ भन्दै पहिलो दिन तीन वटा मुद्दाको सुनुवाइ उच्च अदालत जनकपुरको आधिकारिक युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रशारण गरिएको बताउनु भयो । उहाँले केही समयअघिदेखि नै अदालतमा अनलाइनमार्फत बहस सञ्चालन गर्ने व्यवस्था लागू गरिएको बताउनु भयो। साथै भिडियो कन्फरेन्स प्रविधिको प्रयोगमार्फत नेपाल वा विश्वको जुनसुकै स्थानबाट अधिवक्ताले मुद्दामा बहस गर्न सक्ने व्यवस्था मिलाउनका लागि प्रत्येक इजलासमा एलइडी स्क्रिन, क्यामेरा तथा आवश्यक उपकरण जडान गरिएको छ । यसरी गरिने प्रत्यक्ष प्रशारणले न्यायिक प्रक्रियामा पारदर्शिता, जवाफदेहिता तथा सूचनाको हकको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । खुला न्याय प्रणालीको अभ्यासलाई सुदृढ बनाउँदै नागरिकको न्यायमा पहुँच विस्तार गर्न यो कदम उपयोगी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो।