मलंगवा नगरपालिका–२ स्थित कृष्णचौकमा रहेको दिनकर सेल्स सप्लायर्समा ०८३ असार ४ गते जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले छापा मार्ने क्रममा स्थानीय र प्रहरीबीच झड्प हुँदा सोही ठाउँका २३ वर्षीय जय शंकर कुमार महतो र मलंगवा नगरपालिका –१ भेडियाहीका २८ वर्षीय प्रविन कुमार यादव र २५ वर्षीय अरविन्द कुमार यादव घाइते भएका छन् । घाइतेहरुको उपचार प्रादेशिक अस्पताल मलंगवामा गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १० गण सर्लाहीको टोलीले असार ३ गते राति नै सञ्चालक नविन कुमार यादवको दिनकर सेल्स सप्लायर्समा छापा मारेको थियो । सो क्रममा ७५ बोरा अवैध फर्सीको बीउ बरामद गरेको अवस्थामा स्थानीयवासी भेला भई ढुंगामुढा गर्दा झडप भएको प्रहरीले बताएको छ । स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले दुई राउन्ड अश्रु ग्यास सेल प्रहार गरेको डिएसपी बेद प्रसाद गौतमले बताउनु भयो । बरामद गरिएको फर्सीको बीउ थप अनुसन्धान तथा कारबाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको डिएसपी पौडेलले जानकारी दिनु भयो ।