तीन वर्षीया बालिका समीक्षा डंगोललाई ०८३ जेठ ८ गते उद्दार गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नारायणगढको एक होटलमा आमाबाबुले दुई महिनादेखि अलपत्र छाडेकी बालिकाको उद्दार गरेका हुन् । बालिकालाई बाबु गणेश डंगोल र आमा दिक्षा डंगोलले ०८२ चैत १३ गते नारायणगढ पुल्चोकको रोयल रेष्ट हाउसमा छाडेका थिए । पाँच दिन होटलमा बसेका उनीहरु त्यसपछि अस्पताल जानु छ भन्दै जनकपुर धनुषाधाम– ७ की लक्ष्मी लामालाई छोरी जिम्मा लगाएर होटलबाट बाहिरिएका थिए ।
प्रमुख जिल्ला अधिकारी अर्यालले वडा नम्वर ३ का वडाध्यक्ष विकाश थापा र वडा नम्वर १ का वडाध्यक्ष केशव महर्जनको रोहबरमा बालिकालाई मानवसेवा आश्रमको जिम्मा लगाएका छन् । सम्पर्कमा नरहेका बाबु आमाको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।