INSEC Online

📅 २०८३ जेष्ठ २१

दरबन्दी कटौतीविरुद्ध विद्यार्थी र अभिभावक आन्दोलित

सिमकोट गाउँपालिका–७ स्थित कर्णाली माध्यमिक विद्यालय चौगानफयामा शिक्षक दरबन्दी र दुई कक्षा कटौती गरिएको विरोधमा वैशाख २८ गते विद्यार्थी तथा अभिभावक आन्दोलनमा उत्रिएका छन् । सिमकोट गाउँपालिकाले वैशाख २३ गते गरेको निर्णयअनुसार विद्यालयको नेपाली विषयको एक दरबन्दी कटौती गरी सोही वडाको कैलाश माध्यमिक विद्यालयमा पदस्थापन गरेपछि विरोध सुरु भएको हो ।

निर्णय विभेदकारी भएको भन्दै विद्यार्थी र अभिभावकले विद्यालयमा तालाबन्दी गरेका हुन् । विद्यालयका प्रधानाध्यापक लोकराज शाहीका अनुसार दरबन्दी कटौतीका कारण पठनपाठन प्रभावित हुने अवस्था सिर्जना भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर शाहीले गाउँपालिकाको निर्णय फिर्ता नभएसम्म विद्यालयको ताला नखोल्ने चेतावनी दिनुभयो । उहाँका अनुसार अभिभावक र विद्यार्थीले सिमकोट गाउँपालिका कार्यालयमा घेराउ, धर्ना तथा नाराबाजीसमेत गरेका थिए ।

कक्षा १० मा अध्ययनरत विद्यार्थी सम्झना शाहीले शिक्षक दरबन्दी र कक्षा कटौती गर्दा पठनपाठनमा समस्या भएकोले आन्दोलन गरेको बताउनु भयो ।

स्थानीय कृष्णबहादुर शाहीका अनुसार कर्णाली माध्यमिक विद्यालयका करिब १ सय ५० विद्यार्थी र ५० भन्दा बढी अभिभावक संयुक्त रूपमा आन्दोलनमा सहभागी भएर आन्दोलन गरिरहेका छन् । आन्दोलनका क्रममा विद्यालयको सम्पूर्ण ताला गाउँपालिकालाई बुझाइएको थियो ।

स्थानीय जीवनबहादुर शाहीले विद्यार्थी संख्या पर्याप्त हुँदाहुँदै दरबन्दी कटौती गर्नु विद्यालयलाई कमजोर बनाउने प्रयास भएको आरोप लगाउनुभयो । उहाँले दरबन्दी कटौती गर्नु भन्दा विद्यालय नै खारेज गर्नु उपयुक्त हुने टिप्पणी गर्नुभयो ।

यता, सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले शिक्षक दरबन्दी मिलान प्रक्रिया अन्तर्गत उक्त निर्णय गरिएको बताउनु भयो । उहाँका अनुसार लामो समयदेखि रोकिएको माध्यमिक तहको दरबन्दी मिलान कार्य अहिले कार्यान्वयनमा ल्याइएको हो । बालविकासदेखि कक्षा १० सम्म अध्ययन हुने उक्त विद्यालयमा हाल दरबन्दी अभाव रहेको स्थानीयहरुको भनाइ छ ।

यसैबीच सिमकोट गाउँपालिका–२ स्थित रामदेव माध्यमिक विद्यालय र वडा नम्बर ३ को रलिङ माध्यमिक विद्यालयमा पनि शिक्षक दरबन्दी कटौती गरिएको भन्दै विद्यार्थी र अभिभावकले विरोध जनाइरहेका छन् ।

गाउँपालिका अध्यक्ष भण्डारीले आगामी तीन दिनभित्र कार्यपालिका बैठक बसेर विषयमा छलफल गरी विद्यालय पक्षलाई जानकारी गराइने प्रतिबद्धता जनाउनुभयो ।

नन्द सिंह

अन्य

भिडियो