INSEC Online

📅 २०८३ जेष्ठ २१

चार महिनादेखि फोहोर नउठ्दा सदरमुकाम दुर्गन्धित

मुसिकोट नगरपालिकामा विगत चार महिनादेखि फोहोर व्यवस्थापन हुन नसक्दा सदरमुकाम खलंगा बजार दुर्गन्धित भएको छ । ०८२ पुस महिनादेखि सङ्कलन गरिएको फोहोर नउठ्दा बजारका मुख्य चोक तथा गल्लीहरूमा फोहोरका थुप्रा बढ्दै गएका छन् ।

पुष्पलाल चोक, त्रिवेणी चोक, शहीद गेट र कृषि विकास बैंक चोक जस्ता व्यस्त स्थानमा थुप्रिएको फोहोरका कारण नगरबासीलाई हिँडडुल गर्न समेत कठिन भएको स्थानीयहरूले बताएका छन् ।

यसअघि मुसिकोट नगरपालिका–२ स्थित पानीढुंगामा फोहोर बिसर्जन गरिँदै आएको थियो । तर त्यहाँ फोहोर फाल्दा बढ्दो प्रदूषणका कारण स्थानीयवासीले विरोध जनाएर फोहोर फाल्न रोक लगाएपछि उक्त समस्या भएको हो ।

स्थानीय अमरबहादुर खड्काका अनुसार अव्यवस्थित रूपमा फोहोर फाल्दा प्लास्टिकजन्य पदार्थ खेतबारीमा पुगेर माटो बिग्रिने र जलाउँदा गाउँभरि धुवाँ फैलिने समस्या भएपछि अवरोध गर्नुपरेको हो ।

फोहोर थुप्रिँदा बजारको सौन्दर्यमा समेत असर परेको छ । ‘कहिलेसम्म नाक थुनेर हिँड्नुपर्ने हो ? स्थानीय सरकारले जनताको समस्या समाधानमा सक्रियता देखाउनुपर्छ,’ स्थानीय व्यापारी खगेन्द्र रसाइलीले भन्नुभयो ।’

नगरपालिकाले पानीढुंगामा फोहोर व्यवस्थापनका लागि १० वर्षे सम्झौता गरे पनि अव्यवस्थित रूपमा आगजनी हुने र स्थानीयको माग परिवर्तन भइरहँदा समस्या जटिल बनेको उपप्रमुख बिमलकुमार पुन मगरले बताउनु भयो ।

नगर प्रमुख महेन्द्र केसीका अनुसार दीर्घकालीन समाधानका लागि वैकल्पिक स्थानको खोजी भइरहेको छ । ‘फोहोर व्यवस्थापनलाई केहिले बार्गेनिङको विषय बनाएका छन्, तर नगरपालिका समाधानका लागि निरन्तर प्रयासरत छ,’ उहाँले भन्नुभयो ।

यता, प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले पनि समस्या समाधानका लागि नगरपालिका सक्रिय रहेको र चाँडै व्यवस्थापन हुने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय व्यवसायीहरूका अनुसार फोहोर थुप्रिँदै जाँदा गर्मीयामसँगै संक्रामक रोगको जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित निकायले तत्काल ध्यान दिन आवश्यक छ ।

जीवन खड्का

अन्य

भिडियो