INSEC Online

📅 २०८३ जेष्ठ २१

बाध्यताले छाउगोठमा, कुसंस्कारका कारण मृत्यु !

बुढिनन्दा नगरपालिका–९ अगाउपानिकी ३५ वर्षीया अम्बा बोहोराले दुई छोरा सहित छाउगोठमा जलेर मृत्यूवरण गरेको आज पाँच दनि भयो । अम्बा घरको जेठी बुहारी हुन् । सासूससुराको बृद्धअवस्था भएकाले घरको जिम्मेवारी उनलेनै सम्हाल्दै आएकी थिइन् ।

अम्बाका पति काशी बोहोरा कात्तिकमा खेतिपाति लगाएर भारतको पिथौडागढमा मजदुरी गर्न गएपछि घरको नेतृत्व उनकै काँधमा थियो । अम्बा महिनावारी भएको दुई दिन भएको थियो । पहिलो दिन छिमेकी जौकली बोहोरा महिनावरी भएकाले नौ वर्षका सुरेश बोहोरा र सात वर्षका समित बोहोरा हजुरबुबा र हजुरआमासँगै सुतेका थिए ।

दोस्रो दिन जौकली महिनावारीबाट ‘चोख्खिएर’ घर गइन् । अम्बाले एक्लै रात काट्न चिसो हुन्छ भनेर तीनै आमाछोरासँगै सुत्ने विचार गरिन् र छोरालाई बोलाइन् ।

सँगै सुतेका आमा छोरालाई बिहान ५ बजे सासूआमाले कान्छी बुहारी सुर्जा बोहोरालाई चिया दिन पठाएपछि उनले त्यसै अनुसार गरिन् । सुर्जाले ‘दिदी दिदी’ भन्दै बोलाइन् । भित्रबाट आवाज नआएपछि दिदीको निन्द्रा खुलेको छैन कि भन्दै सुर्जा घर फर्किइन् ।

आधा घण्टापछि सासू बिसु बोहोरा आफैँ नास्ता लिएर बुहारी र नातीहरूलाई बोलाउन गइन् । कूसंस्कारमै अल्मलिएकी बिसुले छाउगोठ छुनुहन्न भन्दै कान्छी बुहारीलाई ढोका खोल्न लगाइन् । त्यतिबेला मात्रै थाहा भयो कि तीन जना आमा छोरा कहिल्यै नउठ्ने र कसैसँग नबोल्ने गरी सुतेका रहेछन् । चीर निन्द्रामा !

गाउँमा चिच्याहाट र सन्नाटा छायो । गाउँले सबै भेला भए । ‘त्यसबेलासम्म म त बेहोस् भएछु ।’–बिसुले भनिन् । मजदुरी गर्न भारत गएका अम्बाका पति काशी बोहोरालाई खबर गर्न कसैले आँट नै गर्न सकेनन् ।

केही बेरमै वडा अध्यक्ष खडक बोहोरा आएपछि काशीलाई फोन गरेर खबर सुनाए । ‘परिवारका तीनै जनाको मृत्यू भएको खबर काशीलाई सायद सपना जस्तै अपत्यारिलो लाग्यो होला ।’–वडाध्यक्ष बोहोराले भने ।

कागजमा मात्र छाउगोठ मुक्त

बुढीनन्दा नगरपालिका–९ को अङ्गाउपानीमा पुस २४ गते राति छाउगोठमा निसास्सिएर तीन जनाको मृत्यु भएको छाउगोठ स्थानीयले भत्काएका छन् ।

स्थानीयले पुस २७ गते उक्त गोठ भत्काएका हुन् । वडा अध्यक्ष खड्क बोहारा र गाँउका महिलाहरूले गोठ भत्काएका हुन् । भत्काएको छाउगोठ १० परिवारको साझा छाउगोठ रहेको स्थानीय महिलाहरूले बताएका छन् । छाउगोठमा मृत्यु भएको गोठ भत्काएपनि गाउँमा रहेका तीन ओटा छाउगोठ भने अहिलेसम्म पनि सुरक्षित राखिएका छन् ।

स्थानीय रिउली बोहाराले भनिन्–‘घर परिवार र समाजको दबाबले गोठमा बस्ने गरेका छौँ ।’ मृतक अम्बा बोहोराका जेठा ससुरा धामीझाँक्री काम गर्ने भएकाले घर बस्न नदिई बाध्य भएर गोठमा बस्दा मृत्यु भएको रिउलीले आरोप लगाइन् ।

उनले आक्रोश पोख्दै भनिन्–‘गाउँमा देउता रिसाउँछन् भनेर समाज र पुरूषले बाध्य भएर गोठमा बसाल्ने गरेका छन् ।’ अब जबरजस्त भएपनि घरमा नै बस्ने रिउलीले अठोट गरेकी छन् ।

बुढिन्नदा नगरपालिका–९ लाई तीन वर्ष पहिला निकै तामझामका साथ छाउपडी गोठ मुक्त समेत घोषणा गरिएको थियो । तर महिलाहरू भने गोठमा बस्दै आएको स्थानीय शिक्षक पुष्कर नेपालीले बताए । ‘गाउँमा सबै अभियान कागजमा मात्र छन् । जिल्ला र केन्द्रमा छाउगोठ मुक्त भनेर रिपोर्ट गएका छन् । तर, गाँउमा यसरी गोठमा मान्छे मरिरहेका छन्।’–शिक्षक नेपालीले भने ।

कानुन कार्यन्वयन भएन

छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित भएको छ । छाउपडी राखेमा त्यस्तो कार्यमा बाध्य गराउनेलाई तीन महिनाको कैद र जरिवानाको व्यवस्था विधेयकमा गरिएको छ ।

तर, अहिलेसम्म छाउगोठमा राखेको भन्दै कसैलाई पनि कारवाही गरिएको छैन । बुढिन्नदा नगरपालिका–९ मा मृत्यु भएकी अम्बा बोहाराको घटनालाई पनि कतै बाट छानविन सुरू गरिएको जानकारीमा नभएको शिक्षक नेपालीले बताए ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी उद्धबसिंह भाटले पहिला सचेतनाका अभियान चलाउने र छाउगोठ भत्काउने बताए । त्यति गर्दा पनि नमानेपछि कानुन अनुसार मुद्दा चलाउने उनको भनाई छ ।

सर्वोच्च अदालतले ०६२ वैशाख १९ गते छाउपडी प्रथालाई कुरीति घोषणा समेत गरेको थियो । सरकारको निदेशनपछि २०६४ सालमा कुरीति घोषणा गरेर छाउपडी प्रथा उन्मुलनसम्बन्धी निर्देशिका–२०६४ समेत जारी गरेको थियो ।

विशेषगरी नेपालको सुदूरपश्चिमका केही जिल्लामा महिनावारी भएका बखत् किशोरी तथा महिलाले घरभित्र बस्न नपाउने र गाई, भैँसीको गोठ वा छाउगोठमा अलग्गै बस्नुपर्ने कुसंस्कारलाई विधेयकले दण्डनीय मानेको छ ।

अन्य

भिडियो