कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र एक महिनादेखि चिकित्सकविहीन भएपछि सेवाग्राहीहरू मार्कामा परेका छन् ।
दरबन्दीमा रहेका डाक्टर विजयकुमार शाह एमडी पढ्न विर अस्पतालमा र करारमा रहेका डा. सत्य शाहीको करार अवधि सकिएपछि स्वस्थ्य केन्द्र चिकित्सकविहीन भएकोे हो ।
‘डा. विजय शाह असार १९ गतेदेखि स्वास्थ्य केन्द्रबाट काठमाडौँ गए । करारमा रहेका शाही कात्तिक १० गतेदेखि २३ गतेसम्म घर विदा र त्यसपछि उनको करार अवधि सकिएपछि स्वास्थ्य संस्था चिकित्सकविहीन बनेको हो ।’–जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख तथा जनस्वास्थ्य निरीक्षक केशवराज गिरीले भने ।
दैनिक १ सय भन्दा बढी बिरामी उपचारका लागि आउने यो स्वास्थ्य केन्द्रमा चिकित्सक नभएकै कारण नेपालगञ्ज, मार्तडी रिफर गर्नु परेको स्वास्थ्य केन्द्रले जनाएको छ ।
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र बाजुराको उत्तरी क्षेत्रका चार ओटा स्थानीय तहका नागरिकलगायत हुम्ला, कालिकोट र मुगु जिल्लाका नागरिकलाई सेवा दिँदै आएको छ ।
यस क्षेत्रको नमूना स्वास्थ्य चौकीका रूपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा उपचारका लागि महङ्गो हवाई भाडा तिरेर नेपालगञ्ज जानु परेको हुम्ला ताजाकोट गाँउपालिकाका अध्यक्ष बागदल मल्लले बताए ।
करारमा रहेका डा. सत्य शाहीको म्याद थपको लागि पहल भइरहेको जिल्ला स्वास्थ्य प्रमुख डा. रूपचन्द्र बिकले बताए ।