हरेक वर्ष साउन आउँछ, हरेक वर्ष नभए पनि प्रायः साउन ३२ पनि आउँछ । साउन ३२ गतेको कार्यक्रम लिएर नेताहरू पनि आउँछन् । भाषण गर्छन् तर दोरम्बा हत्याकाण्डमा मारिएका आफन्तले भने अहँ न्याय पाउँदैनन् ।
२०६० साल साउन ३२ गते दोरम्बाको खरिढुंगामा नेपाली सेनाले माओवादीका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएर डाँडाकटेरीमा लगेर बीभत्स हत्या ग¥यो । दुई जनाको घटनास्थल खरिढुंगामा र १९ जनाको डाँडाकटेरीमा सामूहिक हत्या गरेको २२ वर्ष भयो । तर पीडित परिवारले अहिलेसम्म न्याय पाएका छैनन् ।
आलु किन्न भनेर दोरम्बा जानुभएका पिता पदमराज गिरीको हत्या भएको त्यो बीभत्स दिन मन्थली–८ का कपिलराज गिरीको मानसपटलमा अहिले पनि जस्ताको तस्तै छ । पीडित परिवारले न्यायको माग गर्दै उजुरी गर्न मिल्ने जति सबै ठाउँमा उजुरी गरिसक्यो तर न्याय कतैबाट पाएको छैन ।
तत्कालीन शाही नेपाली सेनाका मेजर राममणि पोख्रेलको नेतृत्वमा गएको सेनाको टोलीले युद्धविरामको बेला बैठक बसिरहेका माओवादी नेताहरूको सामूहिक हत्या गरेको थियो । माओवादी नेता टङ्कलाल घिसिङको सहजिकरणमा उजुरी गरेको भए पनि पीडकलाई हालसम्म कारबाही नभएको गिरीको गुनासो छ ।
दोरम्बा हत्याकाण्डपछि केही समयपछि शान्ति सम्झौता भयो । २०६४ को निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बन्यो । त्यसपछि पनि पटक पटक माओवादी नेतृत्वमा सरकार बन्यो । तर दोरम्बा घटनाका पीडितले न्याय पाएनन् । ‘सरकारमा पुगे पनि आफ्नै पार्टीले आफ्नै सहिद र परिवारलाई सम्झेन’, कपिलको गुनासो छ ।
यस वर्ष पनि २२ औँ दोरम्बा स्मृति दिवसको अवसरमा रामेछाप सदरमुकाम मन्थलीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, मानव अधिकारकर्मी र पीडित परिवार सहभागी भए ।
गएका वर्षहरूमा हत्या गरिएको स्थान दोरम्बाको डाँडाकटेरीमा स्मृति दिवसमा विशेष कार्यक्रमहरू हुने गरेका थिए । कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरू नै आउने गरेका थिए । तर २२ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा सदरमुकाम मन्थलीमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा माओवादी नेता श्यामकुमार श्रेष्ठ, डिल्लीमान तामाङ, मैनकुमार मोक्तानलगायतले हत्याकाण्डको स्मरण गरे । काँग्रेस, एमाले र अन्य दलका नेताहरूले पनि पीडित परिवारले अझै न्याय नपाएको भन्दै सहानुभूति प्रकट गरे । तर घर फर्कने बेला फेरी पीडित परिवार उही भारी मन लिएर घर फर्कियो । पीडितले कहिले न्याय पाउने हुन् कुनै ठेगान छैन ।
मृतकको सम्मानमा हत्या गरिएको स्थान दोरम्बाको डाँडाकटेरीमा डोरमणि पौडेलले मुख्यमन्त्री हुँदा सालिक बनाइएको छ । मृतकलाई सहिद घोषणा गरिएको छ । पीडित परिवारले केही राहत पाएको छन् । पीडित परिवारले भने यी सबै कुरा भन्दा बढी न्याय खोजिरहेका छन् । जो वर्षौँदेखि अनिश्चितताको बादल बनेर मडारिएको छ ।
