INSEC Online

📅 २०८३ जेष्ठ २१

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट ७२ जना लैङ्गिक हिंसा पीडितले लिए सेवा

चौतारा अस्पतालमा लैङ्गिक हिंसा सम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) बाट ७२ जना हिंसा पीडितले सेवा लिएका छन् ।
एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) बाट आर्थिक वर्ष ०८१/८२ मा बलात्कार तथा यौन दुव्र्यवहार घटनाका ४९, शारीरिक यातनाका १४, बालविवाहका आठ र मानसिक यातना एक गरी ७२ जना हिंसा पीडितले सेवा लिएको चौतारा अस्पतालका मेडिकल सुपरिटेण्डेड डा. रुद्रमणी भण्डारीले बताउनुभयो ।

बलात्कार, यौन दुव्र्यवहार, शारीरिक यातना, बालविवाह, मानव ओसारपसार र घरेलु हिंसा लगायतका मानवअधिकार उल्लङ्घनका घटनामा परि पीडित भएका व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यले एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) को स्थापन भएको चौतारा अस्पतालका डा. भण्डारीले बताउनुभयो ।

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले हिंसा पीडितमा परि सङ्कटमा परेकाहरुलाई उद्धार र उपचारको व्यवस्था, आवश्यकता अनुसारको पुन:स्थापनको व्यवस्था, आकस्मिक गर्भ निरोधक, गर्भ परीक्षण तथा सुरक्षित गर्भपतन लगायतको सेवा दिँदै आएको डा. भण्डारीले बताउनुभयो ।

केन्द्रमा सेवा लिन पुगेकाहरुमध्ये १४ वर्ष मुनिका १८ जना रहेका छन् भने १५ देखि १८ वर्ष उमेर समूहका २५ जना छन् । त्यसैगरी १९ देखि ४९ उमेर समूहका २१ जना, ५० देखि ५९ उमेर समूहका एक जना र ६० वर्ष भन्दा माथिका सात जना रहेका छन् ।

जिल्लामा रहेका १२ पालिकाहरु मध्ये चौतारा सागाचोकगढी नगरपालिकाबाट ३२ जनाले सेवा लिएका छन् । त्यसैगरी बाह्रविसे नगरपालिकाबाट ११ जना, जुगल गाउँपालिकाबाट १० जना, इन्द्रावती गाउँपालिकाबाट ६ जना, भोटेकोशी गाउँपालिकाबाट पाँच जना, पाँचपोखरी थाम्पाल गाउँपालिकाबाट दुई जना र मेलम्ची नगरपालिका, बलेफी गाउँपालिका, हेलम्वु गाउँपालिका, लिसंखुपाखर गाउँपालिका बाट एक/एक जनाले सेवा लिएका छन् भने जिल्ला बाहिर स्थायी घरभई सिन्धुपाल्चोकमा अस्थायी रुपले बस्दै आएका दुई जनाले समेत सेवा लिएको चौतारा अस्पतालले जनाएको छ ।

हिंसा पीडित भएर एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा सेवा लिन गएका जनजातिको सङ्ख्या ५५ रहेको छ । त्यसैगरी ब्राम्हण क्षेत्रीमा १२ जना र दलित पाँच जना रहेका छन् ।

हिंसा पीडित तथा प्रभावितहरुलाई ओसिएमसीमा सेवा लिन धेरैजसो प्रहरी कार्यालयबाट पठाएको देखिन्छ । केन्द्रमा सेवा लिन गएकाहरुमा प्रहरीले पठाएको ५५ जना छन, त्यसैगरी आफै गएका १९ जना छन् भने पीडितको नातेदारबाट तीन जनालाई सेवाका लागि केन्द्रमा पुर्‍याएको चौतारा अस्पतालका चिकित्सक डा. भण्डारीले बताउनु भयो । डा. भण्डारीका अनुसार सेवा लिन यस केन्द्रमा आएकाहरु मध्ये अस्पतालमा उपचार पश्चात थप उपचारका लागि तीन जनालाई धुलिखेल अस्पताल र तीन जनालाई परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा रिफर गरिएको छ ।

अन्य

भिडियो