विराटनगर महानगरपालिका ३ स्थित बाल सुधारगृहमा ०८२ साउन २७ गते बाल विज्याईँकर्ताबिच झडप भएपछि सुधारगृहको प्रशासनमा तोडफोड भएको छ ।
सुधारगृहमा रहेका बाल बिज्याइँकर्ताबीच दोहोरो झडप भएपछि बाल सुधारगृहको प्रशासन कक्षमा तोडफोड भएको हो ।
झडपमा उत्रिएका बाल बिज्याइँकर्ताले तोडफोड गरेर सुधारगृहभित्र क्षति पुर्याएका छन । तोडफोडबाट सुधारगृहको मेस भवन, सुरक्षा ब्यारेक, कार्यालयको कोठा, झ्यालको सिसा, कुर्सीहरु लगायतमा क्षति पुगेको छ ।
बाल बिज्याइँकर्ता बालकहरुबीच भएको झडप छुट्याउने क्रममा नेपाल प्रहरीका असई शम्भु चौधरी र वरिष्ठ प्रहरी हवल्दार हिरणकुमार मण्डल घाइते हुनु भएको छ ।
चौधरीलाई खासै चोट नलागेको र टाउकामा चोट लागेका मण्डलको कोशी अस्पतालमा साउन २७ गते उपचारपछि डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी नारायणप्रसाद चिमरियाले बताउनु भयो ।
झडपपछि बाहिर निस्किएर भाग्न खोजेकाहरुलाई सुधारगृहमा खटिएको प्रहरी टोलीले घेरा हालेर सुधारगृहभित्रै राखेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो ।
बाल सुधारगृहको क्षमता ५० जनाको हो । हाल २ सय ४९ जना बाल बिज्याइँकर्तालाई राखिएको छ ।






