दशरथचन्द नगरपालिका–९ ग्वाल्लेक स्थित जोशिबुङ्गा स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् ।
स्वास्थ्य चौकीमा औषधिको चरम अभाव हुँदा मौसम परिवर्तनसँगै फैलिएको भाइरल ज्वरोका साथै अन्य बिरामीहरू समस्यामा परेको स्वास्थ्य चौकी प्रमुख शिवकुमार कठरीयाले बताए ।
नेपाल सरकारको नियमानुसार ३९ प्रकारका औषधिहरू स्वास्थ्य चौकीबाट निशुल्क दिने व्यवस्था गरिएको भएपनि हाल ४–५ प्रकारका औषधिहरू उपलब्ध रहेको कठरीयाको भनाई छ । ति औषधिहरू पनि नियमित नआउने गरेको कठरियाले बताए ।
स्वास्थ्य चौकीमा अहिले सिजनल भाइरलका बिरामीहरू धेरै आउने गरेको र औषधि अभावका कारण सात दिनका लागि दिनु पर्ने औषधि पनि २–३ दिनका लागि दिएर पठाउनु पर्ने बाध्यता रहेको स्वास्थ्य चौकीका अनमी सोनल राईले बताइन् ।
‘बिरामीहरू धेरै आउँछन् । उनीहरूलाई सात दिनको औषधि चाहिएको भएपनि २–३ दिनको मात्र औषधि दिएर पठाउनु पर्ने बाध्यता छ ।’–राईले भनिन्–‘हामीकहाँ औषधिको चरम अभाव छ ।’
जोशिबुङ्गा स्वास्थ्य चौकीमा दशरथचन्द नगरपालिका–११ नागार्जुनका सेवाग्राहीहरू पनि आउने भएकाले औषधिको अभाव बढी सिर्जना भएको स्वास्थ्य चौकी प्रमुख कठरीयाले बताए । अहिले जोशिबुङ्गा स्वास्थ्य चौकीमा सिटामोल पनि एक डिब्बा मात्रै रहेको उनको भनाई छ ।
‘धेरै विश्वासले स्वास्थ्य चौकीमा आए पनि औषधि पाइँदैन । मेडिकल पनि नजिक छैन । के गर्ने ?’– स्थानीय सेवाग्राही धौली वडले भनिन् ।
जोशिबुङ्गा स्वास्थ्य चौकीमा मात्रै नभई जिल्लाका अधिकांश स्वास्थ्य चौकीहरूमा नेपाल सरकारले निशुल्क दिने भनेका औषधिहरूको अभाव रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, बैतडीका प्रमुख निशा जोशीले बताइन् ।
उनले भनिन्–‘स्वास्थ्यका एकाईहरू स्थानीय तहमा गाभिएपछि औषधिको अभाव हुन थालेको हो ।’ औषधि खरिद प्रक्रिया, जनप्रतिनिधिको बेवास्ता र सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको औषधि आपुर्ति व्यवस्था केन्द्रसँग समेत सबै प्रकारका औषधिको अभावका कारण यहाँका स्वास्थ्य चौकी तथा जिल्ला अस्पतालहरूमा औषधिको अभाव सिर्जना भएको हो ।