कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डक्टर गोविन्द केसी अनशन बसेर काठमाडौँ लैजाने क्रममा भएको घटनाको छानबिनका लागि प्रतिष्ठानले साउन १० गते उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा प्राध्यापक डक्टर गीताभक्त जोशीको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरिएको प्रतिष्ठानका उपकुलपति डक्टर राजेन्द्रराज वाग्लेले बताए ।
छानबिन समितिको सदस्यमा पूर्व स्वास्थ्य सचिव डक्टर सिनेन्द्रराज उप्रेती, प्राध्यापक डक्टर कृष्णकुमार राई, डक्टर बाबुराम मरासिनी, डक्टर देवमान लिम्बू, पत्रकार गोरखबहादुर थापा र सदस्य सचिवमा राजु कटुवाल रहेको प्रतिष्ठानका उपकुलपति डक्टर वाग्लेले बताए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्लामा बसेको कार्यकारी परिषदको बैठकले उच्चस्तरीय छानबिन समिति गठन गरेको हो । प्रतिष्ठानका उपकुलपति प्राध्यापक डक्टर राजेन्द्रराज वाग्लेको अध्यक्षतामा बसेको बैठकले अस्पतालमा भएको घटनाको सत्यतथ्य छानबिनका लागि छानबिन तथा प्रतिष्ठानको भविष्यका लागि आगामी दिन कसरी सजिलो बनाउने विषयमा समिति गठन भएको हो ।
गत असार १६ गतेबाट चिकित्सा क्षेत्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा चाँडै पूर्वाधार तयार गरी डक्टर पढाई गरिनुपर्ने भन्दै अनशन बसेका केसीको अनशनको २० औँ दिन साउन ३ गते प्रतिष्ठानमा प्रहरी, विद्यार्थी र कर्मचारीबीच झडप भएको थियो । त्यसै दिन केसीलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो ।