INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षद्वारा महोत्सव स्थलमा निर्मित जनजाति समूदायको नमूना बस्तीमा आगजनी

अज्ञात पक्षले नारायणी नदी किनारमा सञ्चालन गरिने महत्वका लागि निर्माण गरिएको जनजाती समूदायको नमूना बस्तीमा  चैत २६ गते राती आगजनी गरेको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ ।

महोत्सवस्थलमा निर्मित दुरा जातिको घरबाहेक अन्य सवै जातिका घर जलेर नष्ट भएको छ । आगजनी पछि दमकलको सहायतामा आगो नियन्त्रणमा लिएपछि दुरा जातिको घर जोगिएको आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष महेन्द्र दुराले जानकारी दिनु भयो ।

नदी किनारमा ‘प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ आयोजना गर्दा निर्माण गरिएका ११ वटा घरमध्ये दशवटा घर जलेर नष्ट  भएको छ । उक्त स्थानमा गुरूङ, मगर, दुरा, बोटे, कुमाल, दराई, थारू, तामाङ, चेपाङ, राई र भुजेल जातिका घर निर्माण भएका थिए ।

अध्यक्ष दुराका अनुसार ११ जातिको छुट्टाछुट्टै घर निर्माण गर्दा करिब १२ लाख रूपियाँ खर्च भएको छ । मजदुरको ज्यालासहित जोडने हो भने करिब १५ देखि १६ लाख रूपियाँको हाराहारीमा खर्च भएको उनको अध्यक्ष दुराको भनाइ छ । चितवनमा संगठित १७ वटा आदिवासी जनजातिमध्ये ११ वटा जातिले महोत्सवको लागि घर निर्माण गरेका थिए ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), जिल्ला समन्वय परिषद् चितवनले नारायणी नदी किनारमा भएको घटनाप्रति निन्दा व्यक्त गरेको छ । महासंघले उक्त घटनामा संलग्नको खोजी गरी कानुनी दायरामा ल्याउन सुरक्षा निकायसँग मागसमेत गरेको छ ।

नेफिनले घटनाका सम्बन्धमा चैत २६ गते वडा प्रहरी कार्यालय, नारायणघाटमा दोषीको खोजी गरी कारबाहीको माग गर्दै उजुरी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी श्रीराम भण्डारीले घटनाको अनुसन्धान भइरहेको बताउनु भयो ।

photo2024041001chitwan

अन्य

भिडियो