मौन अवधिको आज पहिलो दिन हो । निर्वाचन आयोगले निर्वाचनको तयारी पूरा भएको जनाएको छ भने आचार संहिता उल्लङ्घनका घटना भए त्यसको अनुगमन गरी तत्काल कारबाही गर्न सुक्ष्म निगरानी टोली परिचालन गरिएको जनाएको छ । निर्वाचन आयोगले आज र भोलि मतदाता परिचत्र पत्र वितरण गर्ने कार्यक्रम तय गरेकोमा आज देशैभरका मतदान स्थलबाट मतदाता परिचय पत्र वितरण शुरु गरेको छ । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता भएका नयाँ मतदाताले परिचय पत्र पाउनेछन् । त्यस्तै, परिचपत्र हराएपछि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले पनि मतदान स्थलबाट परिचयपत्र पाउने आयोगले जनाएको छ । निर्वाचन आयोगले मतदाता परिचयपत्र नभएका मतदाताले नागरिकता देखाएर पनि मतदान गर्न पाउने व्यवस्था गरिएको जनाएको छ । देशभर ७ सय ५३ स्थानीय तहमा १० हजार ७५६ मतदान स्थल तोकिएका छन् । सबै मतदान स्थलमा आयोगको टोली पुगिसकेको छ । देशभर एकै चरणमा वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । त्यसका लागि गएरातिदेखि मौन अवधि शुरु भएको छ । यस पटक ७ सय ५३ स्थानीय तहका ३५ हजार २ सय २१ पदका लागि १ लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् ।