INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यार्थीमा अनौठो समस्या देखिएपछि तीन दिन विद्यालय बन्द

विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि सिदिङ्वा गाउँपालिका–३ सुरुम्खिमस्थित बालकल्याण माध्यमिक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ ।

विद्यार्थीहरूमा अनौठो प्रकृतिको स्वास्थ्य समस्या देखिएपछि ०८३ जेठ २० गतेदेखि २३ गतेसम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक यज्ञ पौडेलले बताउनु भयो । सुरुमा एक जनामा देखिएको अनौठो स्वास्थ्य समस्या बिस्तारै अन्य विद्यार्थीमा पनि फैलिएपछि तीन दिनका लागि पठनपाठन वन्द गरिएको प्रअ पौडेलले बताउनु भयो ।

‘बिरामी विद्यार्थीले अर्को साथीलाई आँखा तरेर हेर्ने बित्तिकै अर्कोमा पनि त्यस्तै लक्षण देखिन थाल्छ,’ पठनपाठन नै प्रभावित भएपछि तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रधानाध्यापक पौडेलले बताउनु भयो । विद्यालय परिसरमा क्यान्टिन बनाउनका लागि रुख काटेपछि विद्यार्थीमा अनौठो स्वास्थ्य समस्या देखिएको प्रधानाध्यापक पौडेलको भनाइ छ ।

विद्यालयमा क्यान्टिन बनाउनका लागि नजिकै रहेको दुधिलो र अर्को पात्लेको रूख रहेकोमा उक्त रुख काटेदेखि ‘एक जना विद्यार्थी मन्दिरको थान किन बिगारिस्, दूध आउने रुख किन काटिस् जस्ता वाक्य बोलेर बरबराउन र लड्न गर्न थाले, हामीले गर्मीको समस्या हो की भनेर शान्त कोठामा लग्यौँ । तर, समस्या समाधान भएन, बरु अर्को विद्यार्थी समेत यसरी नै बरबराउने र लड्ने गर्न थाले’ प्रधानाध्यापक पौडेलले भन्नुभयो ।

समस्या समाधानका लागि स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेपनि समस्या समाधान नभएपछि विद्यालय बन्द गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

एलिना दियाली

अन्य

भिडियो