गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या घटनाका आरोपितहरू १३ जना मध्ये १२ जनाले सफाइ पाएका छन् । जिल्ला अदालत चितवनमा भदौ २४ गते आइतबार भएको फैसलामा एक जना प्रतिवादीको हकमा मुद्दा मुल्तवीमा राखिएको र अन्य १२ जना प्रतिवादीले हत्या अभियोगबाट सफाइ पाएको भनी फैसला भएको छ ।
यस अभियोगमा जन्मकैद दावी गरिए पनि वस्तुनिष्ठ आधार नभएको भन्दै अदालतले १२ जनालाई सफाइ दिएको हो ।
न्यायाधीश कुलप्रसाद शर्माको इजलासले आइतबार उक्त फैसला गरेको हो । यस घटनाका आरोपितहरू गोरखा जिल्ला तत्कालीन फुजेल–७ निवासी सिता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजिव भन्ने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, रूद्र आचार्य, कालिप्रसाद अधिकारी, भिमसेन भन्ने भिष्मराज पौडेल, रामप्रसाद अधिकारि, जानुका पौडेल र सुभद्रा तिवारी रहेका छन् ।
प्रतिवादीमध्ये रूद्र आचार्यको हकमा भने मुद्दा तत्कालका लागि मुल्तवीमा रहने भएको छ । आचार्य अदालतमा हाजिर भएपछि कानुन अनुसार निर्णय गरिने उल्लेख छ । आचार्यमाथि यस घटनामा गोली हानेको आरोप छ ।
कृष्णप्रसादका बुवा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या ०६१ जेठ २४ गते भएको भन्दै जिल्ला प्रहरी कार्यालय, चितवनमा उजुरी दिएका थिए । त्यसको १ वर्ष ६ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरूद्ध किटानी उजुरी दिएका थिए । अधिकारीको ०६१ जेठ २४ गते अपहरणपछि हत्या भएको थियो ।
०७० चैत ३० गते यस मुद्दा चितवन अदालतमा दर्ता भएको थियो । २२ औँ पटकको पेशीमा यस मुद्दाको जिल्ला अदालतबाट किनारा लागेको हो । बासुदेव पौडेल, कविप्रसाद न्यौपाने, टेकनारायण कुँवर र कुलप्रशाद शर्माले यस मुद्दा हेर्दै आएका थिए ।
छविलाललाई पनि सफाइ
०७२ पुस ६ गते ‘कृष्णप्रसाद अधिकारीको मृत्यु कर्तव्यबाट भएको कुरा विवाद छैन’ भन्दै सर्वोच्चले आरोपितहरूमध्ये छविलाल पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको थियो ।
अधिकारी हत्या अभियोगका आरोपित छविलाल पौडेल असार २४ गते सर्वोच्च अदालतमा स्वयम् उपस्थित भएका थिए ।
यस घटनामा १३ जना आरोपितमध्ये छविलालको हकमा भने चितवन जिल्ला अदालत र पुनरावेदन अदालत हेटौँडाको धरौटीमा छुटने आदेश उल्टाउँदै सर्वोच्चले ०७२ पुस ६ गते यस्तो आदेश गरेको थियो । चितवन अदालतको ०७२ वैशाख ४ गतेको आदेशले आरोपितहरूमध्ये सात जना धरौटीमा छुटेका थिए भने बाँकी शुद्ध तारेखमा छुटेका थिए ।
छोराको हत्यारालाई कारबाही गरी न्याय दिलाउन भन्दै अनशनमा रहेका नन्दप्रसादको मृत्यु ०७१ असोज ६ गते वीर अस्पतालमा अनशनमा रहेकै बेलामा मृत्यु भएको थियो ।
नुरप्रसाद अनुपस्थित
अधिकारी हत्या प्रकरणका जाहेरवाला व्यक्ति नुरप्रसाद अधिकारीलाई अदालतमा वकपत्रका लागि उपस्थित हुनका लागि दुई पटकसम्म म्याद तामेल भएतापनि उनी चितवन अदालतमा हाजिर भएनन् । उनलाई भदौ ४ गते सोमबारका लागि अदालतले म्याद जारी गरेको थियो ।
जाहेरवाला हाजिर नभएपछि यस मुद्दाको पेशी भदौ २४ गते आइतबारका लागि तोकिएको चितवन अदालतका श्रेष्तेदार गेहेन्द्रराज पन्तले जानकारी दिए । अदालतले नबुझी नहुने भनेको जाहेरवालाको अनुपस्थितिमै फैसला भएको छ ।