चारवर्षदेखि सम्पर्कविहीन नुरप्रसाद सानेपाबाट नियन्त्रणमा

गोरखा फुजेलकी गङ्गामाया अधिकारीका जेठा छोरा नुरप्रसादलाई प्रहरीले साउन २० गते ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको छ ।

गङ्गामायाकै आग्रहमा प्रहरीले उनको खोजी गरेको थियो । कान्छो छोरा कृष्णप्रसादको हत्यामा संलग्न भएकालाई कारबाही गर्नु पर्ने माग राखी विगत लामो समयदेखि न्यायिक अभियानमा सक्रिय र पछिल्लो पटक ०७५ जेठ १५ गतेदेखि आमरण अनशनमा बसेकी सत्याग्रही गङ्गामाया अधिकारीले असार २९ गते साँझ अनशन स्थगित गरेकी थिइन् ।

गङ्गामायाद्वारा १० दिनका लागि अनशन स्थगित

०७१ साल असोज ६ गते उनका पति नन्दप्रसादको अनशन बसेकै अवस्थामा वीर अस्पतालमा मृत्यु भएको थियो । त्यसपछि ०७१ असोज ३१ गते सरकारसँग पाँच बुँदे सहमति भएको थियो । नन्दप्रसादको शवको अन्त्येष्टी अझै गरिएको छैन ।

चार वर्षअघि सरकारले नन्दमायासँग पाँच बुँदे सहमति गर्दै घटनामा संलग्नहरुलाई अदालतको आदेश बमोजिम थुनामा राखी कानुनी कारबाही अघि बढाउने, शिक्षण अस्पतालमा रहेको उनका पति नन्दप्रसाद अधिकारीको शवलाई सम्मानसहित दाहसंस्कारको व्यवस्था गर्ने, गङ्गामायाको बसोबास र जीवन यापनको व्यवस्था गर्नेलगायतका प्रतिबद्धतामा शान्ति तथा पुनर्निर्माण मन्त्रालयका कामु सचिव खुमराज पुञ्जालीले हस्ताक्षर गरेका थिए ।

फुजेल हत्याकाण्डका मुख्य आरोपितद्वारा सर्वोच्चमा आत्मसमर्पण, लगत्तै जेल चलान

असार २९ गते अनशन तोड्ने क्रममा अधिकारीले मानव अधिकारकर्मीहरूसमक्ष आफ्नो जेठो छोराको खोजी गरिदिन आग्रह गरेकी थिइन् ।

त्यसअनुसार खोजी गर्ने क्रममा प्रहरीको अपराध महाशाखाको टोलीले नुरप्रसादलाई साउन २० गते सानेपाबाट नियन्त्रणमा लिएको हो । प्रक्रिया पुरा गरेर उनलाई बुझाइने महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले सञ्चारकर्मीलाई जानकारी दिए ।

कान्छो छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनशनमा रहेकै बेला नन्दप्रसादको मृत्यु भएयता नुरप्रसाद सम्पर्कविहीन थिए ।


अनलाइन डेस्क