१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७ वर्षीय बालकलाई २ वर्ष ६ महिनाका लागि बालसुधार गृह भैरहवा पठाउने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायको ०८३ जेठ २० गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै २ वर्ष ६ महिना बाल सुधार गृहमा पठाउने, २ वर्ष ६ महिना घरमै अभिभावकको निगरानीमा राख्ने, ४ लाख ६६ हजार ६ सय ६६ रुपियाँ जरिबाना र ६५ हजार रुपियाँ क्षतिपूर्तिको फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार केशव पराजुलीले बताउनुभयो ।
आरोपितले बालिकालाई ०८२ जेठ ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १२ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा जबरजस्ती करणी सम्बन्धी कसुरमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई असार १२ गते घरबाटै गिरफ्तार गरेको थियो । पाल्पा अदालतका तत्कालिन न्यायाधीश दल बहादुर केसीको इजलाशले ०८२ असार २५ गते आरोपितलाई पुर्पक्षका लागि बालसुधार गृह भैहरवामा पठाउने आदेश दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण असार १२ गते पाल्पा अस्पतालमा भएको थियो ।