INSEC Online

📅 २०८३ जेष्ठ २१

मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषण

मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।

मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १ सय ३६ स्थानीय तहमध्ये १ सय ३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा २ लाख ८३ हजार ३ सय ८ बालबालिकाको स्वास्थ्य अवस्था मूल्याङ्कन गरिएको थियो । जसमध्ये ३५ हजार ८ सय ८३ जना कुपोषित, ८ हजार ७ सय ७१ जना शीघ्र कुपोषित र २ लाख ३३ हजार १ सय ८२ जना सामान्य अवस्थामा रहेका तथ्याङ्कमा उल्लेख छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डअनुसार यो अवस्था सङ्कटपूर्ण मानिन्छ । मधेस प्रदेशमा कुपोषित तथा शीघ्र कुपोषित बालबालिकाको सङ्ख्या ४४ हजार ६ सय ५४ पुगेको छ, जुन कूल परीक्षण गरिएका बालबालिकाको १५.७६ प्रतिशत हुन आउछ ।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरिबी, अशिक्षा, पोषणसम्बन्धी चेतनाको कमी, सरसफाइको अभाव तथा असन्तुलित खानपान जस्ता कारणले मधेसमा कुपोषणका समस्या जटिल बन्दै गएको बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मधेस प्रदेशका प्रदेश सचिव डा. प्रमोद यादवले कृषि उत्पादनमा सम्पन्न मानिने प्रदेशमा बाल कुपोषण उच्च हुनु चिन्ताको विषय भएको जानकारी दिनुभयो । करिब २९ प्रतिशत बालबालिका मधेस प्रदेशमा जन्मिने र नेपालको कूल जनसङ्ख्याको झण्डै २२ प्रतिशत हिस्सा मधेस प्रदेशमा बसोबास गर्छन् ।

रासस

अन्य

भिडियो