असार २१ गते परेको भीषण वर्षाको कारण अवरुद्ध भएको जिल्लाको दोरम्बा गाउँपालिका–१ डडुवाको शैलुङ क्षेत्र जाने सडक अझै सञ्चालनमा आउन सकेको छैन ।
वर्षाको कारण बिग्रिएको सडक मर्मत नहुँदा सदरमुकाम मन्थली तथा काठमाडौँबाट शैलुङको आवागमन बन्द भएको छ । सडक अवरुद्ध हुँदा बिरामीलाई उपचार गर्न लैजान समेत समस्या भएको स्थानीय दावासाङ्बु शेर्पाले बताउनु भयो ।

सबैभन्दा ठूलो मारमा बिरामी तथा असक्त परेका छन् । बिरामीलाई काठमाडौँ तथा मन्थली ल्याउन र लैजान निक्कै कठिन भएको स्थानीय रत्न कँडेलले बताउनुभयो ।
सडकको दुरावस्थाको कारण दोरम्बा, टोकरपुर, गौश्वारा, डडुवा लगायतका क्षेत्रबाट काठमाडौं र सदरमुकाम मन्थली आऊ–जाऊ गर्न समेत समस्या भएको पनि कँडेलले जानकारी दिनु भयो ।
सडक बन्द हुँदा शैलुङको कृषि उपज पनि स्थानीले बजार पुर्याउन पाएका छैनन् । शैलुङमा किसानले उत्पादन गरेको आलु बजार पुर्याउन नसक्दा थन्किएर बसेको छ ।
यसै वर्ष स्तरोन्नति गरिएको सडक बाढी पहिरोको कारण ठाउँ ठाउँमा भत्किएको छ । भत्किएको सडक मर्मतको काम १० दिन बित्दा पनि सुरु भएको छैन ।
शैलुङ मात्रै होइन दोरम्बा शैलुङ गाउँपालिकाको केन्द्र टोकरपुर जाने सडक समेत वर्षाको कारण जोखिमपूर्ण बनेको छ ।
दोरम्बाको अग्लेश्वरीदेखि टोकरपुर पुग्ने सडक यातायात साधन चल्न नसक्ने अवस्थामा पुगेको छ ।
तर सडक मर्मतको लागि स्थानीय दोरम्बा शैलुङ गाउँपालिकाले ६५ लाख बढी खर्च गरिसकेको छ । सडकमा ग्राभेल बिछ्याइएको भए पनि वर्षाको कारण सडक बिग्रिएर समस्या भएको गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानको भनाइ छ ।
