जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २३ र २४ गते इलाका प्रहरी कार्यालय, अनारमनी, इलाका प्रहरी कार्यालय, सुरुङ्गा र दमकस्थित इलाका प्रहरी कार्यालय, दमकमा आगजनी, तोडफोड, लुटपाट र प्रहरीमाथि साङ्घातिक आक्रमण गरेको आरोपमा प्रहरीले कात्तिक २३ गते १२ जनालाई गिरफ्तार गरेको छ ।
घटनाको सिसीटिभी फुटेज, भिडियो र फोटोका अध्ययन र विश्लेषणका आधारमा आरोपितहरुको पहिचान गरी गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो ।
गिरफ्तारीमा पर्नेहरूमा विर्तामोड नगरपालिका–५ का ४५ वर्षीय नवराज राई, सोही ठाउँका २२ वर्षीय राजन चौधरी, २० वर्षीय आयूष धिमाल, कनकाई नगरपालिका–१ का ४२ वर्षीय गोपाल सङ्ग्रौला, कनकाई नगरपालिका–३ का २५ वर्षीय विष्णु विक, शिवसताक्षी नगरपालिका–१० का २५ वर्षीय कुशल तिम्सिना, सोही ठाउँका ३१ वर्षीय सञ्जय बस्नेत, विर्तामोड नगरपालिका–५ की २४ वर्षीया पूजा मगर र अर्जुनधारा नगरपालिका–७ का २८ वर्षीय सुरज राई छन ।
इलाका प्रहरी कार्यालय, दमकमा आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले दमक नगरपालिका–३ का १९ वर्षीय रियाज सिलवाल, इलामको चुलाचुली गाउँपालिका–३ का २२ वर्षीय नकुल अधिकारी र पाँचथर मिक्लाजुङ गाउँपालिका–५ स्थायी घर भइ हाल दमक नगरपालिका–१ मा बसोबास गर्दै आएका २२ वर्षीय साजन ल्हागुनलाई गिरफ्तार गरेको छ ।
गिरफ्तारीमा परेकाहरुविरुद्ध प्रहरीले जिल्ला अदालतमा ०८२ कात्तिक २४ गते आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ ।