INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढीपहिरोका कारण इलाममा ११ अर्ब बढीको क्षति

कोशी प्रदेशमा ०८२ जेठ १६ गते भित्रिएको मनुसन असोज १८ र १९ गते पुन सक्रिय भएपछि भएको भारी वर्षाका कारण जिल्लामा ११ अर्ब ८१ करोड रुपियाँ बढीको क्षति भएको छ ।

जिल्लास्थित विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी, कृषिजन्य क्षेत्रमा ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार ७ सय ३ रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सडक डिभिजन, पूर्वाधार विकास कार्यालय, नेपाल विद्युत प्राधिकरण, जलस्रोत तथा सिँचाइ डिभिजनसहित सम्बन्धित ११ ओटा विषयगत कार्यालयबाट सङ्कलन गरेको क्षतिको प्रारम्भिक विवरण अनुसार प्राकृतिक विपद्का कारण जिल्लामा ११ अर्ब बढीको क्षति भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनु भयो ।

सडक डिभिजनअन्तर्गत विभिन्न एघार ओटा आयोजनामा पहिरो गई ६ अर्ब ९६ करोड ४५ लाख रुपियाँको क्षति भएको छ । पूर्वाधार विकास कार्यालयअन्तर्गत ६२ ओटा सडकमा २ अर्ब ३४ करोड ६५ लाख, २५ ओटा पुलमा ८५ करोड र ६ ओटा भवनमा ४ करोड रुपियाँ बराबरको क्षति भएको छ ।

जिल्ला प्रशासनका अनुसार नेपाल विद्युत प्राधिकरण अन्तर्गत पाँच ओटा आयोजनाको एचटी लाइन, एलटी लाइन र ट्रान्सफर्मरमा रु दुई करोड ४७ लाख ३५ हजार ९५२ बराबरको क्षति भएको छ । त्यसैगरी, जलस्रोत तथा सिँचाइ विकास डिभिजनअन्तर्गत १६ नदी नियन्त्रण आयोजनाको रु १३ करोड ४६ लाख ६९ हजार, पाँचवटा पहिरो नियन्त्रण आयोजनाको रु एक करोड ७४ लाख २२ हजार र ७२ सिँचाइ आयोजनामा रु १७ करोड ७१ लाख ५९ हजारबराबरको क्षति भएको छ ।

त्यसैगरी, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रअन्तर्गत दुई हजार ५२० वटा पशुपन्छीमा रु दुई करोड ३५ लाख ७६ हजार र दुई सय ४४ वटा गोठ र पोखरीमा रु एक करोड ९७ लाख ५४ हजारबराबरको क्षति भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभाग धनकुटा फिल्ड एकाइ कार्यालयअन्तर्गत २९ वटा खानेपानी आयोजनामा रु २८ करोड ७५ लाख र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भद्रपुर झापाअन्तर्गत २ सय २३ आयोजनामा रु २८ करोड १ लाख बराबरको क्षति भएको प्रजिअ नेपालले जानकारी दिइन ।

त्यस्तै, कषि ज्ञान केन्द्रअन्तर्गत ३ हजार ४०९ किसानले ८ सय ९२ दशमलव ३२ हेक्टर क्षेत्रमा लगाएको खाद्य तथा नगदेबालीमा रु २७ करोड ४९ लाख ९५ हजार ७ सय ५० र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजनाअन्तर्गत २५ चिया बगानमा रु चार करोड ७५ लाख ५० हजारबराबरको क्षति भएको छ ।

नेपाल टेलिकमअन्तर्गत १० अप्टिकल फाइबर तथा केवलमा रु पाँच लाख आठ हजार र सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना गैँडे झापाअन्तर्गत ३१ वटा आयोजनामा पहिरोबाट रु ३२ करोड ९० लाख १६ हजार रुपियाँ बराबरको क्षति भएको छ ।

 

मनोज अधिकारी

अन्य

भिडियो