अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तु र माहुरी होमको संयुक्त टोलीले जेठ ६ गते जिल्ला कारागार कपिलवस्तुको अनुगमन गरेको छ ।
इन्सेक कपिलवस्तु प्रतिनिधि रीमा बि.सी. र माहुरी होमका अध्यक्ष रामदयाल ठाकुरसमेतको टोलीले कारागारमा रहेका कैदीबन्दीहरूको अवस्था, उपलब्ध सेवा–सुविधा तथा सुरक्षाकर्मीहरूको बसोबासको अवस्थाबारे अनुगमन गरेको हो ।
अनुगमनका क्रममा जिल्ला कारागार कपिलवस्तुको क्षमता ३ सय ५२ जनाको भए पनि हाल ३ सय ९१ जना कैदीबन्दी राखिएको छ । कारागार प्रशासनका अनुसार हाल रहेका कैदीबन्दीमध्ये २ सय ८६ जना कैदी र १ सय ५ जना थुनुवा रहेका छन् । तीमध्ये १८ जना महिला कैदी र २५ जना महिला थुनुवा गरी ४३ जना महिला कैदीबन्दी छन् ।
कारागारमा १८ वर्षदेखि ८३ वर्ष उमेर समूहका कैदी तथा थुनुवाहरू रहेका छन् । लागुऔषध मुद्दाका १ सय २२ जना, बलात्कार मुद्दाका ९५ जना, कर्तव्य ज्यान मुद्दाका ६३ जना, सवारी ज्यान मुद्दाका ३९ जना, चोरी मुद्दाका २६ जना, डाँका चोरीका ९ जना, ज्यान मार्ने उद्योगका ८ जना र बहुविवाहका ५ जना लगायतका कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएकाे छ ।

क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा विभिन्न स्वास्थ्य समस्या बढ्दै गएको पाइएको छ । कारागारमा छालासम्बन्धी समस्या भएका ३७ जना, मानसिक रोगको नियमित औषधि सेवन गर्ने ५ जना, क्षयरोगका १ जना, नाक–कान–घाँटीसम्बन्धी समस्या भएका १० जना, दाँतसम्बन्धी समस्या भएका २४ जना, क्यान्सरका ४ जना, युरिक एसिडका २ जना, उच्च रक्तचापका १८ जना, हाडजोर्नी समस्या भएका ४१ जना तथा आँखासम्बन्धी समस्या भएका २७ जना रहेका छन् ।
कैदीबन्दीहरूले क्षमता भन्दा बढी संख्या हुँदा सुत्न, नुहाउन र शौचालय प्रयोग गर्नसमेत पालो कुर्नुपर्ने अवस्था रहेको गुनासो गरेका छन् । भीडभाडका कारण छालाजन्य रोगको संक्रमण बढेको तथा सरकारले आधारभूत स्वास्थ्य अधिकारप्रति संवेदनशीलता नदेखाएको भन्दै अधिकांशले आफ्नै खर्चमा उपचार गर्नुपरेको बताएका छन् ।
जिल्ला कारागार कपिलवस्तुका प्रमुख मानबहादुर सारुले सन् १९९५ मा स्थापना भएको कारागारको भौतिक अवस्था कमजोर रहेको बताउनुभयो । उहाँका अनुसार कारागारमा शुद्ध पिउने पानीको अभाव, सहायक कम्प्युटर अपरेटर पद रिक्त हुँदा कारागार व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा कठिनाइ तथा सुरक्षाकर्मीको पूर्ण दरबन्दी नहुँदा थुनुवालाई अदालत वा अस्पताल लैजान समस्या भइरहेको छ ।
प्रमुख सारुले सीमित स्रोत–साधनका बाबजुद कारागार व्यवस्थापन सुधारका लागि प्रयासरत रहेको उल्लेख गर्दै क्षमता भन्दा बढी कैदीबन्दी राख्नु बाध्यता भएको बताउनुभयो ।
कारागारका एक नाइकेले चापाकलको पानी प्रयोग गर्नुपर्दा विभिन्न रोगको जोखिम बढेको भन्दै शुद्ध पिउने पानीको व्यवस्था गर्न माग गर्नुभयो ।
कैदीबन्दीहरूले सरकारले उपलब्ध गराउने प्रतिव्यक्ति दैनिक ७ सय ग्राम चामल र ८० रुपैयाँ भत्ता समयमै उपलब्ध हुने गरेको बताएका छन् । उनीहरूले आफन्तसँग भेटघाट, मुद्दासम्बन्धी जानकारी प्राप्त गर्ने तथा आफूले चाहेको कानून व्यवसायी राख्न पाउने सुविधा रहेको पनि बताएका छन् ।
सूचना अधिकारी रेशमलाल भुसालले सरसफाइ र स्वास्थ्य उपचारमा ध्यान दिए पनि शुद्ध पिउने पानीको अभावका कारण विभिन्न समस्या भोग्नुपरेको बताउनुभयो । सरकारले कैदीबन्दीका लागि वर्षमा दुई जोर कपडा, दुई वर्षमा एक पटक सिरक–डसना, दशैं खर्चस्वरूप ३ सय रुपैयाँ तथा प्रत्येक तीन वर्षमा सुकुल खर्च उपलब्ध गराउने गरेको उहाँले जानकारी दिनुभयो ।
कारागारमा रहेका कैदीबन्दीहरूले विभिन्न सीप सिकेर जीविकोपार्जनसमेत गरिरहेका छन् । हाल ३६ जना मुढा बनाउने, ३२ जना गलैँचा बुन्ने, २१ जना गुडिया बनाउने, २० जना मूर्ति कुँद्ने, ६ जना सिलाइकटाइ तथा ३ जना फर्निचरसम्बन्धी काममा संलग्न रहेका छन् । यसरी कुल १ सय १८ जना कैदीबन्दी विभिन्न इलममा आबद्ध रहेका छन् ।
कारागारमा विद्यालय उमेर समूहका कैदीबन्दी भए पनि शिक्षकको व्यवस्था नभएको पाइएको छ । कारागारमा एक जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् र उहाँले नियमित स्वास्थ्य परीक्षण गर्ने गरेको अनुगमन टोलीले जनाएको छ ।
शैक्षिक अवस्थाअनुसार कारागारमा तीन जना स्नातकोत्तर, २३ जना स्नातक, २४ जना एसएलसी उत्तीर्ण, ५९ जना कक्षा १० मा अध्ययनरत, ७१ जना कक्षा ८ अध्ययन गरेका, ४७ जना कक्षा ५ अध्ययन गरेका, ९५ जना साक्षर तथा ४९ जना निरक्षर रहेका छन् ।
अनुगमनका क्रममा कैदीबन्दी बस्ने भवनका भित्ताहरू जीर्ण अवस्थामा रहेको समेत पाइएको छ ।