INSEC Online

📅 २०८३ जेष्ठ २१

बयान बदलेको आरोपमा सात दिन कैद र २ हजार रूपियाँ जरिबानाको फैसला

आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमार्फत अदालत पुर्‍याएको मुद्दामा त्यसो भएको होइन, गाउँघरका मानिसले मुद्दा देऊ भनेर मात्र दिएको हुँ भनी उजुरीविरूद्ध बयान बदल्ने दुई जना युवतीलाई दैलेख जिल्ला अदालतले चैत २० गते प्रति व्यक्ति सात दिन कैद र २ हजार रुपियाँका दरले जरिबानाको फैसला सुनाएको छ ।

गत असोज ३ गते नारायण नपा-३ भूर्तीका ३० वर्षीय यज्ञप्रसाद भट्टराईले बलात्कार गरेको भनी सोही दिन प्रहरीमा उजुरी दिएकी युवतीले अदालतमा बयान बदलेको कारण सो सजाय भएको जनाइएको छ ।

त्यस्तै प्रकृतिको अर्को घटना असोज १७ गते ससुराली गाउँ चौराठा पुगेका दुल्लू नपा-१० का २३ वर्षीय बिनोद भन्ने विष्णु शाहीले २० वर्षीया युवतीलाई कुटपिट गरी बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २० गते प्रहरीमा दिएको उजुरी विपरीत अदालतमा बयान बदलेको भन्दै युवतीलाई सात दिन कैद र २ हजार रुपियाँ जरिबाना सुनाएको छ ।

न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट यी दुवै घटनामा जाहेरवालाले नै घटना भएको होइन रिसइबीले मुद्दा दिएको भनी अदालतमा बयान दिएको कारण आरोपित यज्ञप्रसाद भट्टराई र बिनोद भन्ने विष्णु शाहीलाई सफाइ दिएको छ । यज्ञप्रसादलाई आरोप लगाएकी युवतीलाई ५ हजार रूपियाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसलामा उल्लेख छ ।

अन्य

भिडियो