सिंहदरबारको दक्षिण गेटअगाडि निषेधित क्षेत्रमा मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्षसहित ६ जना विद्यार्थी नेतालाई प्रहरीले ०८३ असार ३१ गते गिरफ्तार गरेको छ ।
निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि उहाँहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले जानकारी दिनु भयो। गिरफ्तार हुनेमा अनेरास्ववियुका अध्यक्ष दीपक धामी, अनेरास्ववियु निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी र कानुन राष्ट्रिय समिति सचिव सुदीप थापा रहेका छन् ।
अनेरास्ववियुले राज्य आतंक बढेको आरोप लगाउँदै विरोध प्रदर्शन गरेको जनाएको छ । प्रदर्शनका क्रममा सहभागीहरूले “राज्य आतंक बन्द गर”, “गरिबको आवाज दबाउन पाइँदैन” र “सिंहदरबार खबरदार” लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए । प्रदर्शनका कारण केही समय उक्त क्षेत्रको सवारी आवागमन प्रभावित भएको थियो । गिरफ्तार गरिएका विद्यार्थी नेतालाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उहाँहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।