२५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा काठमाडौँ जिल्ला अदालतले मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजलाई दोषी ठहर गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ०८३ असार ३० गते अहिराजलाई दोषी ठहर गरेको हो । अदालतले सजाय निर्धारणका लागि अर्को पेसी तोकेको छ ।
पीडित पक्षले आरोपितविरुद्ध ०८१ माघ ३ गते जिल्ला प्रहरी परिसर, काठमाडौँमा बलात्कार मुद्दामा उजुरी दर्ता गरेकोमा आरोपितलाई प्रहरीले ०८२ साउन ४ गते गिरफ्तार गरेको थियो । आरोपितले पीडितलाई १७ वर्ष हुँदादेखि नै पटक–पटक र अन्तिम पटक ०८१ जेठ ४ गते बलात्कार गरेको आरोप छ । घटनापछि कसैलाई जानकारी दिए ज्यान मार्ने धम्की दिएको समेत पीडितको आरोप छ । राजेश अहिराज (राजेश झा) ०७७ फागुन ७ देखि ०७८ साउन ३२ गतेसम्म मधेश प्रदेशका प्रदेश प्रमुख थिए । अहिराज पत्रकार तथा मधेशवादी अभियन्ताका रूपमा पनि परिचित छन् ।