नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पाँच जना कार्यकर्तालाई सुनसरी प्रहरीले जिल्ला अदालत परिसरबाटै चैत १८ गते गिरफ्तार गरेको छ ।
बन्दी प्रत्यक्षीकरण मुद्दामा कानुन व्यवसायीको जिम्मा रहनेगरी सुनसरी जिल्ला अदालतले रिहा गरे लगत्तै उनीहरूलाई प्रहरीले अदालत परिसरबाटै गिरफ्तार गरेको हो ।
न्यायाधीश विनोदकुमार गौतमको इजलासले गिरफ्तार गरिएका ६ जनामा नन्दु थापा नाम गरेका सो पार्टीका कार्यकर्ताबाहेक अन्य पाँच जनालाई कानुन व्यवसायी निराजन ओझाको जिम्मामा बुझाई छाड्ने आदेश दिएको थियो ।
कानुन व्यवसायी ओझाले अदालतको आदेशपछि आफूले बुझ्ने बित्तिकै उनीहरूलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गिरफ्तार गरेको बताए ।
कानुनी प्रक्रिया अनुसार थप अनुसन्धानका लागि उनीहरूलाई गिरफ्तार गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
गिरफ्तार हुनेमा इटहरी उमनपा-९ का ३४ वर्षीय लक्ष्मण कार्की, २६ वर्षीय मोहन कार्की र ४२ वर्षीय रोशन ढकाल छन् । त्यसैगरी धरान उमनपा-११ का ३५ वर्षीय सुरेश राई, धरान उमनपा-३ का २६ वर्षीय सुरज राई र इटहरी उमनपा-५ का ४४ वर्षीय नन्दु थापा रहेका छन् ।