जिल्ला अस्पताल इलाममा दरबन्दी अनुसारका विशेषज्ञ डक्टरहरू नहुँदा उपचार गर्न आउने विरामीलाई समस्या भएको छ ।
१६ जना डक्टरको दरबन्दीमध्ये अहिले जिल्ला अस्पतालमा पाँच मेडिकल अधिकृत, एक दन्तरोग विशेषज्ञ र १० विशेषज्ञ डक्टरको दरबन्दी छ । स्थायी दरबन्दीमा काम गर्ने डक्टर दुई जना मात्रै छन् । चार डक्टर करारमा कार्यरत रहेकामा दुई जना बिदामा रहेपछि अहिले चार जनाले सेवा दिँदै गरेको अस्पतालकी सूचना अधिकारी रीता अधिकारीले बताइन् ।
अहिले अस्पतालमा आएका बिरामीमध्ये प्रसूति, दन्तरोग र बालरोगको उपचार गराउनेले मात्रै विशेषज्ञ सेवा पाउने गरेका छन् । अन्य रोगका विशेषज्ञ नभएकाले चिकित्सकले सामान्य जाँच गरेर अन्यत्रका अस्पताल जान सल्लाह दिने गरेका छन् ।
अन्य रोगका विशेषज्ञ नभएकाले अभ्यासमा रहेका डक्टरले सामान्य जाँच गरेर अन्यत्रका अस्पताल जान सुझाव दिने गरेको अधिकारीले जानकारी दिइन् । अधिकारीका अनुसार पछिल्लो समय अस्पतालमा जाँच गराउनेमध्ये कडारोगीको सङ्ख्या बढ्दो भएपनि विशेषज्ञ नभएकै कारण त्यस्ता बिरामीले सेवा पाउन सकेका छैनन् ।
दैनिक १ सय ५० भन्दा बढी बिरामी आउने गरेको अस्पतालले जनाएको छ । सरकारले सर्वसाधारणलाई स्वास्थ्य बिमाको सुविधा पनि दिएपछि अस्पतालमा बिरामीको चाप बढ्दो छ । उपचार गराउन आउनेमध्ये स्वास्थ्य बिमाको सेवा लिने र सेवा नलिनेको सङ्ख्या बराबर जस्तै छ ।
स्वास्थ्य बिमाको सुविधा लिन सरकारी अस्पताल नै पुग्नुपर्ने भएपछि गाउँका बिरामी जिल्ला अस्पताल आउन थालेका हुन् । जिल्ला अस्पताललाई २५ बाट ५० शैयामा स्तरबृद्धि गरी भौतिक पूर्वाधार पुर्याइए पनि जनशक्ति अभाव भने कायमै रहेको छ ।