गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणका जाहेरवाला मृतकका दाइ नुरप्रसाद अधिकारी गाउँमा फेला नपरेपछि उनको नामको म्याद पिपलको रूखमा टाँसिएको छ ।
गोरखा जिल्ला अदालतबाट म्याद तामेलका लागि गएका तामेलदार टीकाराम थापाले नुरप्रसादलाई नभेटेपछि र उनको घर समेत नभेटिएकाले नजिकैको चौतारामा पिपलको रूखमा म्याद टाँसेर फर्केका छन् ।
गत फागुन २२ गते म्याद तामेल भएको थियो । गोरखाको गण्डकी गाउँपालिका-३ का वडाअध्यक्ष नवराज श्रेष्ठले वडा कार्यालयमा पनि म्याद तामेल भएको कागजमा रोहवरको रूपमा हस्ताक्षर गरेका छन् ।
गाउँलेहरू नुरप्रसादबारे अनभिज्ञता प्रकट गरेको गोरखा अदालतले जनाएको छ । त्यसो त तीन वर्षअघिसम्म चितवनमा पनि दैनिक रूपमा पत्रकार, मानव अधिकारकर्मीहरूसँग भेटघाट गर्ने उनी त्यसयता सर्म्पर्कविहीन छन् । गोरखा जिल्ला फुजेल हालको गण्डकी गाउँपालिका-३ मा नुरप्रसादको स्थायी ठेगाना उल्लेख छ । उनीसँग फोन सम्पर्क समेत हुन नसकेको जनाइएको छ ।
फागुन १३ गते आइतबार न्यायाधीश कुलप्रसाद शर्माको इजलासले यस मुद्दाका जाहेरवाला नुरप्रसाद अधिकारीलाई बकपत्रका लागि अदालतमा हाजिर हुन आदेश गरेको थियो ।
मुलुकी ऐन २०२० को अदालती बन्दोवस्तको ११५ अनुसार ‘नबुझी नहुने’ भन्दै नुरप्रसादलाई आगामी चैत २५ गते आइतबार अदालतमा वकपत्रका लागि हाजिर हुन आदेश गरेको हो ।
०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले सोही दिन आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय, चितवनमा उजुरी दिएका थिए । त्यसको १ वर्ष ६ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी उजुरी दिएका थिए ।