अज्ञात समूहले फागुन १५ गते राति प्रहार गरेको गोली लागेर बीरगञ्जमा बिन्दवासिनी गाउँपालिकाको झौवागुठीका ३५ वर्षीय उमेश चौरसिया घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय अगाडि रहेको पुरानो यातायात संस्थानको रातो बङ्गलाको पछाडिपट्टि चौरसियालाई ‘प्यासन प्रो’ बाइकमा आएका अज्ञात समूहले गोली प्रहार गरेको हो ।
चौरसियाको पेटमा गोली लागेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि बीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको भएपनि उपचारमा कठिनाइ भएपछि थप उपचारका लागि काठमाडौँ लैजान ‘रिफर’ गरिएको छ ।
चौरसियाको पेटबाट रगत बग्न नरोकिएकाले उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।