INSEC Online

📅 २०८३ जेष्ठ २१

मुक्त हलिया पुनर्स्थापना कार्य अलपत्रः कानुन निर्माणमा स्थानीय तहको बेवास्ता

‘सरकारले हलिया मुक्ति घोषणा गरेको १६ वर्ष बित्यो, तर हामी अझै पनि साहुका घरमा मजदुरी गरिरहेका छौँ ।’ यो थलारा गाउँपालिकाका वडा नं ८ का ४० वर्षीय मोहन नेपालीको गुनासो हो । हलिया मुक्त पुनर्स्थापना कार्यक्रमको लागि प्रमाणीकारण भएर (क) वर्गमा परेर पनि आफूले अहिलेसम्म कुनै पनि सुबिधा नपाएको र अरुको घरमा काम गरेर गुजरा चलाउनु परेको उहाँले बताउनु भयो । उहाँजस्तै बझाङका सयौँ हलिया अझै पनि कानुनी पुनर्स्थापनाको पर्खाइमा छन् ।

०६५ भदौ २१ गते नेपाल सरकारले हलिया प्रथा अन्त्यको ऐतिहासिक घोषणा गरेको थियो । त्यस घोषणासँगै सरकारले हलिया प्रथाको अन्त्य मात्र नभई हलियाका सबै ऋण मिनाह गर्ने, पुनर्स्थापनाका लागि आवास, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएको थियो । तर, व्यवहारमा ती योजनाहरू कार्यान्वयन हुन सकेका छैनन् ।

निर्णय भयो, कार्यान्वयन भएन

०७० सालमा सरकारले मुक्त हलियाको पुनर्स्थापनाका लागि कार्यविधि पारित गर्दै प्याकेज सार्वजनिक ग¥यो । जसअनुसार देशभरका मुक्त हलियाको तथ्याङ्क संकलन, वर्ग पहिचान, परिचय–पत्र वितरण, प्रमाणीकरण, जग्गा खरिददेखि घर निर्माणसम्मका कार्य थालिएका थिए । जिल्लामा पनि यो कार्यक्रम अन्तर्गत १ सय ५९ परिवारले जग्गा खरिद र घर निर्माण दुवै सुविधा पाएका थिए । ९० ओटा घर निर्माण गरिएको थियो भने ३ सय ८७ परिवारका लागि मात्रै जग्गा खरिद गरियो । २ हजार ८६ परिवारका घर मर्मत गरिएको थियो । यसरी जम्मा २ हजार ७ सय १३ जना मुक्त हलिया परिवार सरकारले ल्याएको प्याकेजबाट लाभान्वित भएको राष्ट्रिय हलिया महासंघ, बझाङका अध्यक्ष चक्रबहादुर सार्कीले जानकारी दिनुभयो ।

तर, अहिलेसम्म पनि ती प्याकेज अन्तर्गतका अधिकांश कार्यक्रम अधुरा छन् । कतिपय काम सुरुवातमै अलपत्र परेका छन् । बाँकी २ सय १७ मुक्त हलिया परिवार स्थानीय तहबाट सुबिधा पाउने गरी सिफारिस भएर पनि सरकारी प्याकेजमा समेटिन सकेका छैनन् ।

कानुनविहीन स्थानीय तह

०७६ जेठ ६ गतेको मन्त्रीपरिषद्को निर्णयअनुसार मुक्त हलियाको पुनर्स्थापनाको जिम्मेवारी स्थानीय तहलाई दिइएको थियो । तर, जिल्लाका १२ मध्ये ११ ओटा स्थानीय तहले अहिलेसम्म कार्यविधि नै निर्माण गर्न सकेका छैनन् । थलारा गाउँपालिकाले मात्रै कार्यविधि बनाएको भए पनि बजेटको अभाव देखाउँदै त्यसलाई कार्यान्वयनमा लैजान सकेको छैन् । अन्य स्थानीयहरूले भने कार्यविधि निर्माण गर्ने तत्परता समेत देखाएका छैनन् ।

राष्ट्रिय हलिया महासंघका महासचिव मंगल सार्कीका अनुसार जिल्लामा कुल २ हजार ९ सय ४५ मुक्त हलिया प्रमाणीकरणमा परेका छन् । जसमध्ये २ हजार ८ सय ४८ परिवार पुनर्स्थापनामा समेटिएका छन् । ती मध्ये ४० परिवार गैरदलित समुदायका हुन् भने बाँकी सबै दलित समुदायका छन् ।

जिल्लाका १२ ओटा स्थानीय तह मध्ये बढी जयपृथ्वी नगरपालिकामा ४ सय ८५ जना मुक्त हलिया परिवार सरकारको पुनर्स्थापना प्याकेजमा समावेश भएका छन् । त्यस्तै बुंगल नगरपालिकामा २ सय ९९, थलारा गाउँपालिकामा ३ सय ६४, खप्तडछान्नामा ३ सय ४२ केदारस्युँमा २ सय ८९, छविसपाथिभेरामा २ सय ५१, दुर्गाथलीमा २ सय ३८, मष्टामा २ सय १, सुर्मामा १ सय ४७, तलकोटमा १ सय ९६, बित्थडचिरमा १ सय ३३ र साईपाल गाउँपालिकामा तीन मुक्त हलिया परिवार सरकारको पुनर्स्थापनाको कार्यक्रममा छनोट भएका भए पनि  स्थानीय तहमा प्रमाणीकरण गरिएका २ सय १७ मुक्त हलिया परिवार अझै पुनर्स्थापना प्याकेजमा समावेश हुन सकेका छैनन् ।

अधूरो प्याकेज,

सार्कीका अनुसार कतिपय मुक्त हलिया परिवारले सुकुम्बासीका रुपमा जग्गा त पाएका छन् । तर, पर्याप्त रोजगारी, शिक्षा र आधारभूत सेवा नपाउँदा पुनर्स्थापना पनि निष्क्रिय बन्दै गएको छ । “सरकारी प्याकेज अधुरो, अपूरो र अपुग छ,।” महासचिव सार्कीले भन्नुभयो, ‘त्यही भएर कतिपय पुनस्थापित परिवार फेरि बस्ती छाडेर भारत जान बाध्य छन् ।’ पूर्व हलियाका धेरै बालबालिकाले अझै पनि शिक्षामा पहुँच पाएका छैनन् । विद्यालय टाँढा हुनु, अतिरिक्त शुल्क तिर्न नसक्नु र पोषण अभावले गर्दा उहाँहरूको शिक्षामा गम्भीर असर परेको छ । स्वास्थ्य र रोजगारको अवस्था पनि उस्तै दयनीय छ । कतिपय गाउँमा सीप विकास तालिम, स्वास्थ्य सुविधा तथा आर्थिक सहायता नपाउँदा जीवनयापन कठिन भएको पीडितहरूको गुनासो छ ।

हलियामुक्ति घोषणापश्चात पनि सकसपूर्ण जीवन

जिल्लाको तल्कोट, मस्टा, जयपृथ्वी, छविसपाथिभेरा, थलारा, केदारस्युँ, बुंगल, दुर्गाथली लगायतका गाउँहरूमा हलिया समस्या अझै पनि गहिरो छ । यी गाउँहरूमा १ हजार २ सय भन्दा बढी हलिया परिवारको बसोबास रहेको अनुमान छ । उहाँहरुको अवस्था हेर्दा ०६५ सालको हलिया मुक्ति घोषणा अझै पनि व्यवहारमा लागू नभएको स्पष्ट देखिन्छ । पुनर्स्थापनाको नाममा गरिएको सरकारी घोषणाहरू पूर्व हलियाका लागि ‘अधूरो न्याय’ बनेका छन् । कानुन बनाइएन, योजना कार्यान्वयन भएन र हलियाको जीवन फेरि पुरानै चक्रमा फसिरहेको छ । आज पनि हलियाहरूले, हलियाको काम गरेर बस्नुपर्ने बाध्यताले १६ वर्षअघिको हलिया मुक्ति घोषणालाई गिज्याइरहेको छ ।

अन्य

भिडियो