INSEC Online

📅 २०८३ जेष्ठ २१

बम विस्फोट नै नभएको फैसलाबाट दु:खित भएँ: गौरिशंकर राम

रौतहटको राजापुरस्थित फरहदवास्थित पूर्व मन्त्री तथा सांसद मोहमद अफ्ताब अलामको काका शेखइद्रिशको घरगोठमा ०६४ चैत २७ गते भएको बम विस्फोटको घटनाका प्रत्यक्षदर्शी तथा पीडित ४३ वर्षीय गौरीशंकर राम चमारले विशेष अदालतको फैसलाबाट दु:खित भएको बताउनु भएको छ । सो दिनको बम विस्फोटबाट घाइते भई तीन महिनाभन्दा बढी समय भारतको सीतामढी अस्पतालमा उपचार गराएर शरीरभरि बमका खतैखतको निशाना बोकेका प्रत्यक्षदर्शी पीडित गौरीशंकर उच्च अदालतको फैसलाबाट दु:खित् हुनु भएको हो ।

उहाँले इन्सेककर्मीसँग ०८२ असार २३ गते भन्नु भयो- “जिल्ला अदालतले दोषी करार गरी त्यो बेलाको घाउमा मलमपट्टि लागे पनि अहिले उनीहरूले सफाइ पाएको फैसला सुनेपछि दु:खित् भएकोले न्यायको लागि काठमाडौँ आएको हुँ” ।

उक्त बम विस्फोटको घटना भएको १२ वर्षपछि अनुसन्धान हुँदा  सांसद तथा पूर्व मन्त्री महोमद अफ्ताव अलामलाई प्रहरीले २०७६ असोज १९ गते गिरफ्तार गरी जिल्ला अदालत राैतहटमा पेस गरेकोमा अदालतको कार्तिक २९ गतेको आदेशले पुर्पक्षका लागि जेल जलान भएका थिए ।

रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमसहित महताब आलम, शेख सेराज भन्ने शेख सराज र बद्री सहनी गरी चार जनालाई ०८१ वैशाख १३ गते जन्मकैदको फैसला गरेको थियो । घटना भएको समयमा मुलुकी ऐन २०२० कार्यान्वयनमा रहेको भन्दै सोही अनुसार जन्मकैद अर्थात् २० वर्षको सजाय भएको थियो ।

जनकपुर उच्च अदालतको वीरगञ्ज इजलाशले  घटना नै नभएकाे फैसला गरेकाे थियाे। उक्त फैसलाले आफ्नो पीडालाई बेवास्था गरेकोले न्यायका लागि पुन: सार्वजनिक कार्यक्रम मार्फत् अपिल गर्नु भएको हो । गौरीशंकरले असार २२ गते पत्रकार सम्मेलमा आफूले लगाएको सर्ट खोलेर बम बिस्फोटमा कहिल्यै नमेटिने खतैखत देखाउँदै आफ्नो पीडामा अदालतको फैसलाले थप पीडा थपेको बताउनु भयो ।

न्यायाधीशहरू डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनको ०८२ जेठ १४ गतेको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै आरोपितहरूलाई सफाइ दिएपछि गौरीशंकरलाई थप चिन्तित बनाएको छ। ‘ठीकसँग मिसिल हेरेर फैसला गरिदिनुपर्थ्यो, उहाँहरूले गलत फैसला गर्नुभएको छ,’ पत्रकार सम्मेलनमा उहाँले भन्नु भयो, ‘हामी त त्यही घटनामा परेर जलेका साक्षी हौं, शरीरको यस्तो अवस्था छ, घटना देख्ने म त ज्यूँदै छु, उहाँले कसरी त्यहाँ बम नै पड्किएको छैन भन्न सक्नुभयो ?’

२०६४ को चैत २८ गते  हुने संविधान सभा निर्वाचनको अघिल्लो दिन  वि.सं. २०६४ साल चैत २७ गते साँझ साढे ६ बजे रौटहटको राजपुरस्थित घरमा बम विष्फोटन भएको थियो ।  बम विस्फोटमा दुई जना मारिएका थिए भने २० जना भन्दा बढी घाइते भएका थिए। घटनामा घाइते भएका त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरिएको आराेप आलममाथि लागेको थियो।

संविधान सभा निर्वाचनमा  ठाउँ–ठाउँमा विस्फोट गराई अरुलाई तर्साउने र आफूले बुथ कब्जा गर्ने तथा आफ्नो प्रभावमा पार्ने योजनाअनुसार घरगाेठमा कार्यकर्ताहरूले बम बनाइरहेका बेला विस्फोट भएको थियो।

इन्सेककर्मीसँग कुरा गर्दै गौरिशंकरले भन्नु भयो, “आलमले सञ्चालन गरेको ‘राजा’ इटाभट्टामा मजदुरी गरेको आफ्नो ज्याला लिन  बोलाएकोले घर गोठमा गएको थिएँ । जहाँ मजदुरीको हिसाब किताब हुने गर्थ्यो । त्यो दिन आलमको घरमा पुग्दा १ सय जनाभन्दा बढीको भिडभाड थियो । ज्याला लिनको लागि कुर्ने क्रममा घरभित्र विष्फोटन भएको थियो । विस्फोटबाट  शरीरमा आगो लागेको अवस्थामा इट्टा पार्न बनाइएको खाडलको पानीमा हामफाली शरीरमा लागेकाे आगो निभेपछि घाइते अवस्थामा भागेँ ।”

Photo1Rautahat20820323

घाइते अवस्थामा ज्यान जोगाउन भागेका गौरिशंकरलाई खेतमा बेहोस अवस्थामा लडेको देखेपछि गाउँलेको सहयोगमा आफन्तले उद्धार गरी भारतको सीतामढीस्थित अस्पताल पुर्‍याए। करिब तीन महिनाको उपचारपछि उनी निको भएर घर फर्किए । ज्यान त जोगियो तर उनको शरीरमा विस्फोटका गहिरो खत र दुवै कानका लोती भने गुम्यो। घाउ निको भए पनि शरीरका अन्य भागबाट छाला निकालेर घाउ टालिएकोले गर्मीमा शरीर असाध्यै पोल्ने गरेको बताउनु हुन्छ । उहाँका आफन्त नरेश र मुनिष पनि ज्याला लिन सँगै गएका थिए । उनीहरू पनि सोही विष्फोटनमा घाइते भएका थिए । उनीहरू उपचार गराएर निको भएकोले कामको सिलसिलामा भारतमै छन् । सर्लाहीका सफिमहमद पनि सो घटनामा परि घाइते भए पनि उनले पछि बयान फेरेर आलमको पक्षमा गएको गौरिशंकर बताउनु हुन्छ ।

विस्फोटको १२ वर्षपछि सर्वोच्च अदालतको आदेशमा आलममाथि अनुसन्धान सुरु हुँदा प्रहरीले भारतको सीतामढीमा गौरीशंकरलाई फेला पारेको थियो। उनको शरीरभरि विस्फोटका खत थिए। प्रहरीसँगको बयानमा उनले घटनाको दिन घटनास्थलमा रहेको र ठूलो आवाजमा विस्फोट भएको बताएका थिए। त्रिवि शिक्षण अस्पतालले गरेको स्वास्थ्य परीक्षण प्रतिवेदनले पनि गौरीशंकर विस्फोटबाट घाइते भएको पुष्टि गरेको थियो।

जिल्ला अदालत रौतहटले गौरीशंकरको बयान र स्वास्थ्य प्रतिवेदनलाई महत्वपूर्ण प्रमाण मानेको थियो। जिल्ला अदालतले गौरीशंकरमाथि सुरक्षा चुनौती रहेको भन्दै उनलाई सुरक्षा दिन आदेश समेत जारी गरेको थियो। न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले विस्फोटनमा परी  गौरीशंकर घाइते भई उपचार गराएको कुरालाई प्रमाणित ठहर गरेको थियो।

यस घटनामा इन्सेक लगायतका सङ्घसंस्थाले स्थलगत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको थियो । जिल्ला अदालतले गरेको फैसलामा उक्त अध्ययन प्रतिवेदनलाई समेत उल्लेख गरिएको छ ।

अन्य

भिडियो