INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण, शरीर बन्धक र बलात्कार पछि हत्या घटनाका फरार आरोपितहरू गिरफ्तार

बर्दिबास नगरपालिका-१४ की ६ वर्षीया गुलावसा खातुनलाई बलात्कार गरी हत्या गरेको घटनाका फरार आरोपितहरूलाई प्रहरीले गिरफ्तार गरी ०८२ असार १५ गते सार्वजनिक गरेको छ ।

अपहरण, शरीर बन्धक र बलात्कार तथा हत्या घटनाका फरार आरोपितहरू बर्दिवास नगरपालिका-१४ का  ६० वर्षीय राजकिशोर साह र ५१ वर्षीया सुशीला देवी साहलाई ४ वर्ष ७ महिनापछि जलेश्वर-१२ नैन्हीबाट प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय महोतरीका एसपी हेरम्ब शर्माले जानकारी दिनु भयो ।

२०७७ मङ्सिर ७ गते गुलावसा खातुनलाई बर्दिवास नगरपालिका-१४ का २६ वर्षीय अरुणकुमार साहले ललाइफकाइ आफ्नो घर लगी बलात्कार गरी हत्या गरेका थिए । घटना लगत्तै अरुणलाई प्रहरीले गिरफ्तार गरेको थियो । हत्यामा संलग्न अरुणका बुबा राजकिशोर साह र आमा शुशिला देवी फरार भएका थिए ।

जलेश्वर नगरापालिका-१२ नैन्हीस्थित आफन्तलाई भेट्न आएको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिवास र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलिले आरोपितद्वयलाई गिरफ्तार गरेको एसपी शर्माले बताउनु भयो ।

बलात्कारपश्चात आरोपित अरुणकुमार साहले बालिकाको हत्या गरी बोराभित्र राखी झाडीमा लुकाउँदा आमा र बुबाले सहयोग गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । घटनालगत्तै गिरफ्तार भएका अरुणलाई ०७७ पुस ५ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो र जिल्ला अदालतका न्यायाधीश रामचन्द्र खड्काको इजलासले आरोपितलाई कसुर गरेको ठहर गर्दै जन्मकैदको सजाय सुनायो ।

अन्य

भिडियो