उच्च अदालत सुर्खेतमा आर्थिक वर्ष ०८१÷०८२ को जेठ २१ गतेसम्म जबर्जस्ती करणी सम्बन्धी १ सय ३१ थान मुद्दा दर्ता भएका छन् । उच्च अदालत सुर्खेतमा आर्थिक वर्ष ०८१÷०८२ को जेठ २१ गतेसम्म कुल ७ सय ७५ थान मुद्दामध्ये सबैभन्दा बढी जबरजस्तीकरणीका मुद्दा छन् । जसमध्ये बहुविवाह तथा बालविवाह सम्बन्धी मुद्दा ६१, कर्तव्य ज्यान, सवारी ज्यान, ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा १ सय ८, लागुऔषध सम्बन्धि ७३, चोरी सम्बन्धी ४५, वन तथा वन्यजन्तु सम्बन्धी १७ थान, जातीय विभेद र छुवाछुत सम्बन्धी ३१, हातहतियार खरखजना सम्बन्धी ६, मानव बेचविखन तथा ओसारपसार सम्बन्धी पाँच र अन्य २ सय ४ थान मुद्दा दर्ता भएका हुन् ।
उच्च अदालत सुर्खेतले तीन वर्षमा २ हजार १ सय २५ थान मुद्दा फैसला गरेको छ । आर्थिक वर्ष २०७९÷०८० मा ९ सय २२ थान मुद्दा मध्ये ७ सय ६२ थान, आर्थिक वर्ष ०८० ÷०८१ मा ९ सय १६ थान मुद्दा मध्ये ७ सय ५४ थान र आर्थिक वर्ष ०८१ ÷०८२ को जेठ २१ सम्म ७ सय ७५ मुद्दा मध्ये ६ सय ९ थान मुद्दा फैसला गरेको हो । जेठ २१ गतेसम्म १ सय ६६ थान मुद्दा फैसला हुन बाँकी रहेको उच्च अदालत सुर्खेतका कायम मुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष जिम्मेवारी सरेर आएका १ सय ६२ र नयाँ ६ सय १३ गरेर ७ सय ७५ थान मुद्दा हुन् । जसमध्ये १ सय ६२ थान जिम्मेवारी तर्फ र ४ सय ४७ थान नयाँ रहेका मुद्दामा ६ सय ९ थान फैसला भएका छन् । ‘जिम्मेवारी सरेका सबै मुद्दा फैसला भएका छन् । फैसला लगतका आधारमा ७८.५८ प्रतिशत र ७ सय १२ को लक्ष्यका आधारमा ८५.५४ प्रतिशत फैसला गरेका छौं,’ उहाँले भन्नुभयो ।
उच्च अदालत सुर्खेतले दिएको सूचना अनुसार जेठ २१ गतेसम्म ८५ देवानी तर्फका मुद्दामा ६८ फैसला, सरकारवादी फौजदारी तर्फका ५ सय ४१ थान मुद्दामा ४ सय १७ फैसला, दुनियावादी फौजदारी तर्फका ४४ थान मध्ये ३८ थान फैसला भएका छन् । त्यसैगरी मुलुकी फौजदारी कार्यविधि संहिताको ७३ नम्बर र २५७ नम्बरका १ सय ५२ थान मुद्दा दर्ता भएका छन् । हालसम्म परेका ९४ रिट निवेदनमध्ये ७६ फैसला भएका छन् भने १८ रिट बाँकी रहेकोे अदालतले जनाएको छ । यस आर्थिक वर्षको अन्त्यसम्म उच्च अदालत सुर्खेतमा १ हजार मुद्दा दर्ता हुने अनुमान गरिएको छ । यस्तै ७ सय १२ थान मुद्दा फैसला गर्ने अनुमान गरिएको छ । थुनुवा भएका मुद्दाहरुमा १ सय ७१, १४ जना बालबालिका, दुई जना महिला, ३२ जना पुरुष गरी ४८ जना रहेका छन् ।