भिमाद नपा-५ का एमाले कार्यकर्ताहरूलाई मङ्सिर २१ गते राति नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले आक्रमण गरेको पीडित पक्षको आरोप छ ।
सो ठाउँको गणेशमान स्मृति प्राविमा मतदान सम्पन्न भई सुरक्षाकर्मीले मतपेटिका सदरमुकाम दमौली ल्याइसकेपछि राति करिब ७ बजेको समयमा काङ्ग्रेस कार्यकर्ताहरूले एमाले कार्यकर्ताहरूलाई बाटो छेकेर आक्रमण गरेको नेकपा एमालेका कार्यकर्ता श्यामकृष्ण गैह्रेले आरोप लगाए ।
सो मतदान केन्द्रमा नेपाली काङ्ग्रेसले बुथ कब्जा गर्ने पटक-पटक प्रयास गरेकोमा एमालेका कार्यकर्ताहरूले रोकेपछि आक्रोसित बनेका काङ्ग्रेस कार्यकर्ताले राती घर फर्किरहेका एमाले कार्यकर्ताहरूलाई बाटो छेकेर आक्रमण गरेको गैह्रेले बताए ।
कुटपिटपछि नेपाली काङ्ग्रेस कार्यकर्ताहरूले एमाले कार्यकर्ता तुलबहादुर थापालाई मोटरसाइकलमा चढाएर लगि सोही स्थानको सेरघाट भन्ने स्थानमा फालेर भागेको इलाका प्रहरी कार्यालयका भिमादका सई लालबहादुर क्षेत्रीले बताए । थापालाई खोज्दै गएको प्रहरीले जङ्गल बिचमा भेटेर उद्धार गरेको उनले बताए ।
आक्रमणमा परी थापासहित एमाले कार्यकर्ताहरू बाबुराम गैह्रे, अर्जुन गैह्रे, राजेन्द्र गैह्रे र श्यामकृष्ण गैह्रे घाइते भएका नेकपा एमाले भिमादले जनाएको छ । थापाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको उपचार सेतीगङ्गा अस्पताल बेलचौतारामा भइरहेको छ भने टाउकोमा गहिरो चोट लागेका अर्जुनलाई थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ ।
नेकपा एमालेले काङ्ग्रेस कार्यकर्ताद्वारा आफ्ना कार्यकर्तामाथि आक्रमण भएको भन्दै कारबाहीको माग गर्दै इप्रका भिमादमा उजुरी दिने तयारी गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय भिमादका सई क्षेत्रीले घटनाको थप अनुसन्धान भइरहेको र उजुरी पाएपछि कारबाही प्रक्रिया अगाडि बढाइने बताए ।