INSEC Online

📅 २०८३ जेष्ठ २१

सडक अवरोध गरेर आयोजना गरिने कार्यक्रम बारे उच्च अदालतको कारण देखाउ आदेश

वीरेन्द्रनगरका सार्वजनिक सडकहरूमा गरिने कार्यक्रमहरूको विषयमा उच्च अदालत सुर्खेतले कारण देखाउ आदेश जारी गरेको छ । वैशाख ३० गते अधिवक्ता प्रकाश बावु ऐडीले सार्वजनिक कार्यक्रमहरू सडकमा गर्दा विद्यालय र यात्रुहरूलाई सास्ती हुने भन्दै त्यस्ता कार्यक्रमहरू सञ्चालन गर्न बन्द गर्नुपर्ने मागसहित उच्च अदालत सुर्खेतमा रिट दायर गर्नुभएको थियो । ०८२ वैशाख ३१ गते उच्च अदालत सुर्खेतका न्यायाधीश मातृकाप्रसाद भण्डारीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

अधिवक्ता ऐडीले वीरेन्द्रनगर वडा नम्बर ६ को पिपल चौतारादेखि रामजानकी मन्दिर हुँदै भानुपार्क, वडा नम्बर ७ स्थित सामाजिक विकास मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नेपाल टेलिकम, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हुँदै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, जिल्ला सरकारी वकिल कार्यालयदेखि सुर्खेत जिल्ला अदालतको गेटसम्म र उच्च अदालत सुर्खेतदेखि आन्तरिक मामिला तथा कानुन मन्त्रालय हुँदै प्रदेश प्रहरी कार्यालयसम्मका सडकमा सार्वजनिक कार्यक्रमहरु बन्द गर्नुपर्ने रिटमा माग गर्नुभएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला सुरक्षा समिति, जिल्ला प्रहरी कार्यालय, प्रदेश सुरक्षा समिति, वीरेन्द्रनगर नगरपालिका र नगर कार्यपालिकाको कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरिएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरका सडकहरूमा विगतदेखि नै विभिन्न राजनीतिक दल, सङ्घ संस्थाहरूले सडक बन्द गरेर कार्यक्रम गर्दै आएका छन् । सडकमा आयोजना गरिने कार्यक्रमहरूले सर्वसाधारण यात्रुहरूमा प्रत्यक्ष असर पारेको छ । सडक नै रोकिएर हुने कार्यक्रमहरूले जनजीवन प्रभावित हुने मात्र होइन, आकस्मिक सेवा प्रयोग गर्नेहरू समेत समस्यामा पर्ने गरेका छन् । राजनीतिक दल र विभिन्न सङ्घ संस्थाहरूले गरेका आमसभा र र्‍यालीका कारण घण्टौँसम्म यात्रुले सास्ती पाउने गरेको अधिवक्ता ऐडी बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – ‘नजिकै विद्यालय छन् । सार्वजनिक कार्यालयहरु छन् । त्यति मात्रै होइन, बिरामी लिएर एम्बुलेन्स हिँड्छन् । त्यस्ता सडक बन्दले नागरिकलाई प्रभाव पार्छ । कार्यक्रमहरू खुला स्थानमा हुनुपर्छ ।’ उनले सडक नागरिकको साझा सम्पत्ति भएको भन्दै यसको प्रयोग जनताकै हितमा हुनु पर्ने भएकोले वैकल्पिक स्थान रोज्नुपर्ने बताउनु भयो । वीरेन्द्रनगरका सार्वजनिक सडकमा हुने यस्ता गतिविधिका कारण कार्यालय समयमा हिँड्ने कर्मचारी, परीक्षा दिने विद्यार्थी र आन्तरिक पर्यटक समेत हैरान भएका छन् । रिट निवदेनको तर्फबटा निवेदक अधिवक्ता प्रकाश बावु ऐडी, अधिवक्ताद्वय मातृकाप्रसाद खनाल र हिमालयजंग शाहीले गर्नुभएको थियो ।

Photo16052025surkhet

अन्य

भिडियो