उमाकुण्ड गाउँपालिका–५ प्रीति निवासी प्रेस चौतारी नेपाल रामेछापका सहसचिव तथा रेडियो इनर्जी १०६.२ मेगाहर्जका उमाकुण्ड सम्वाददाता २४ वर्षीय मणिराज सुनुवारलाई ०८२ वैशाख २९ गते उमाकुण्ड गाउँपालिका–४ को चण्डीथानमा चण्डी पूजाको समाचार सङ्कलनको क्रममा कार्यक्रमका स्वयमसेवकहरूले कठालो समातेर तानी हातपात गर्दै दुर्व्यवहार गरे ।
चण्डी गुठीका अध्यक्षको अनुमिति लिएर समाचार सङ्कलन गर्न जानुभएका सुनुवारलाई आफूलाई स्वयंसेवक बताउनेहरूले तानेर बाहिर निकालेका थिए । आफू पत्रकार भएको कार्ड देखाउँदा समेत उनीहरूले दुर्व्यवहार गरेको उहाँले बताउनुभयो । यस विषयमा आफूसँग सो कार्यक्रम स्थलमा रहेको प्रहरीलाई समेत मौखिक जानकारी गराएको सुनुवारले बताउनुभयो ।
यसैबिच किराँत समुदायको महान् सांस्कृतिक पर्व उभौलीको अवसरमा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–४ स्थित चण्डीथानमा आयोजित चण्डी पूजाको समाचार सङ्कलनका क्रममा सुनुवार माथि भएको दुर्व्यवहारको घटना प्रति प्रेस चौतारी नेपाल रामेछापले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सङ्गठनका सचिव शंकर बरुवालले ०८२ बैशाख २९ गते विज्ञप्ति जारी गरी चण्डी गुठीका अध्यक्षसँग अनुमित लिएर फोटो खिच्न जानु भएका पत्रकार सुनुवारलाई स्वयंसेवकहरूको अपमानजनक तरिकाले दुर्व्यवहार गरेको घटना निन्दनीय भएको जनाउनुभएको छ ।
सो घटना प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सञ्चारकर्मीको पेसागत सम्मान र नागरिकको सूचनाको अधिकार माथिको ठाडो आक्रमण भएको भन्दै प्रेस चौतारी नेपाल रामेछापले भत्र्सना गरेको छ ।
प्रेस चौतारी नेपाल रामेछापले सुनुवारमाथि गरिएको दुव्र्यवहारको घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूमाथि कडा कारबाहीको माग गरेको छ ।
साथै यस्ता घटना फेरि दोहोरिन नदिन र पत्रकारको सुरक्षामा ध्यान दिन प्रेस चौतारी नेपाल सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
