शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरू कोठमाडौँ केन्द्रित आन्दोलनमा गएपछि सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ ।
वैशाख २ गतेबाट भर्ना अभियान सञ्चालन गरी वैशाख ८ बाट नियमित पठनपाठन सुरु हुनुपर्ने भए पनि रामेछापका कुनै पनि सामुदायिक विद्यालयमा पठनपाठन सुरु हुन सकेको छैन ।

जिल्लाका सबै सामुदायिक विद्यालय बन्द रहेका जिल्ला शिक्षा विकास समन्वय इकाई रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलले जानकारी दिनुभयो ।
वैशाख ७ गतेसम्म भर्नाको काम सकेर ८ गतेबाट कक्षा सञ्चालन हुनुपर्ने भए पनि विद्यालय बन्द हुँदा विद्यार्थी भर्नाको काम नै हुन नसकेको मन्थली नगरपालिका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले जानकारी दिनुभयो ।
‘भर्ना अभियान नै सुरु हुन सकेको छैन, यसले गर्दा समग्र पठनपाठन प्रक्रिया प्रभावित हुने देखिन्छ’, उहाँले भन्नुभयो ।
संस्थागत विद्यालयमा पठनपाठन सुरु भइसक्दा सामुदायिक विद्यालय भर्ना समेत खुलेको छैन ।
संस्थागत विद्यालयका विद्यार्थी किताबका झोला बोकेर स्कुल जान लाग्दा सामुदायिक विद्यालयका विद्यार्थीको हातमा किताब समेत परेको छैन ।
स्कुल बन्द छ, हामीले किताब पनि पाएका छैनौँ’, सामुदायिक विद्यालयमा पढ्ने रामेछाप नगरपालिका–८ का सुशील श्रेष्ठले भन्नुभयो ।
जिल्लामा सामुदायिक तर्फ ९० ओटा माध्यमिक र २ सय ६५ ओटा आधारभूत विद्यालय छन् । त्यस्तै ३ सय ९० ओटा बाल विकास केन्द्र छन् ।