उमाकुण्ड गाउँपालिकामा वडा सदस्यसहित दलित महिलाहरू माथि भएको जातीय विभेदको घटनामा मिलापत्र गराइएको भन्दै जिल्लाका तीन राजनीतिक दलका दलित सङ्गठनहरूले आपत्ति जनाएका छन् ।
गत फागुन २४ सो गाउँपालिकाको वडा नं ३ कुभुकास्थलीस्थित चिर्मालु गुम्बामा आयोजित कार्यक्रममा लामा गुरुलाई स्वागत गर्न पुगेका वडा सदस्य ३२ वर्षीय शर्मिला नेपालीसहित दलित महिलाहरूलाई स्थानीय ५२ वर्षीय छोक्पा शेर्पाले जातीय आधारमा विभेद गरी छुट्टै बस्न तथा छुट्टै खान बाध्य पारेकी थिइन् ।
वडा सदस्य नेपालीसहित अन्य ४ जना महिलाहरूले फागुन २५ गते आफूहरू माथि विभेद भएको भन्दै कारबाहीको माग गरी वडा कार्यालयमा निवेदन दिएका थिए ।
वडा कार्यालयले मेलमिलाप केन्द्रमा पठाएको सो घटामा फागुन २६ गते दुवै पक्षलाई बोलाएर छलफल गराई मिलापत्र गराएको थियो ।
सोही घटनालाई लिएर ०८१ फागुन २९ गते नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघ रामेछापका सभापति बलबहादुर दमाई, नेकपा एमालेको नेपाल उत्पीडित जातीय मुक्ति समाज रामेछापका उपाध्यक्ष कुलबहादुर रोका र नेकपा माओवादी केन्द्रको नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष सिताराम मुङ्गरातीले संयुक्त विज्ञप्ति जारी गरेर गैरकानुनी रूपले मिलापत्र गराएको भन्दै आपत्ति जनाएका छन् ।
जातीय विभेद जस्तो सरकारवादी मुद्दामा मिलापत्र गराएको घटनाले न्यायिक प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाएको ती संगठनहरुको भनाइ छ ।
‘संविधानले जातीय भेदभाव तथा छुवाछुतलाई दण्डनीय अपराध मानेको र सरकारवादी फौजदारी मुद्दामा मिलापत्र गर्न नपाइने स्पष्ट कानुनी प्रावधान हुँदाहुँदै पनि जातीय विभेदको घटनालाई कानुनी कारबाही प्रक्रिया मार्फत अगाडि बढाउनु पर्नेमा त्यसो नगरी सम्बन्धित वडा तहका जनप्रतिनिधिको रोहवरमा स्थानीय मेलमिलाप केन्द्रले मिलापत्र गराएको घटनाले न्यायिक प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ’, विज्ञप्तिमा लेखिएको छ ।
यसरी मिलापत्र गराउनेलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया अगाडि बढाउन ती सङ्गठनहरूले माग गरेका छन् ।
