सुदूरपश्चिम सरकार भूमी व्यवस्था तथा कृर्षि सहकारी मन्त्रालयले निर्माण गरेका चिस्यान गृह (कोल्ड स्टोर) सञ्चालनमा नआउदा कृषकहरु मर्कामा परेका छन् ।
चिस्यान गृहको लामो समयदेखि निर्माण कार्य सम्पन्न नुहुँदा र निर्माण सम्पन्न भएका चिस्यान गृह पनि सञ्चालनमा नआउँदा कृषकहरुले स्टोर गरेर राख्नु पर्ने फलफुल, तरकारी तथा बिभिन्न विउविजनको भण्डारण हुन नसक्दा समस्या उत्पन्न भएको हो ।
गोदावरी नगरपालिका–२ अत्तरियास्थित कोल्डस्टोको निर्माण कार्य सात वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा कृषकहरुले उत्पान गरेको तरकारी, फलफुल भण्डारण गर्ने ठाउँ नभएर चाँडै कुहीने, बिग्रीने गरेको छ ।
कृर्षि उपज थोक बजार अत्तरियाका अध्यक्ष नन्दलाल भट्टले खरिद गरिएका तर समयमा बिक्री नभएका तरकारी, फलफुल तथा अन्य बिउविजनहरु भण्डारण गर्ने कोल्डस्टोर नहुँदा कुहीने, बिग्रीने भएर किसान र व्यापारीहरु समस्यामा पर्दैआएको बताउनु भयो ।
उहाँले भन्नुभयो– ‘०७५ सालमा ५० लाख रुपियाँ संघीय सरकारको वजेट, ४५ लाख रुपियाँ गोदावरी नगरपालिकाको वजेट र १० लाख रुपियाँ कृर्षि वजार व्यवस्थापन समितिको साझेदारीमा निर्माण सुरु गरिएको थियो । कोल्ड स्टोरमा सुदूरपश्चिम प्रदेश सरकारले आवश्यक उपकरण जडान गर्ने जिम्मा लिएको भए पनि उक्त कार्य हुन सकेको छैन् । सात वर्ष बितिसक्दा समेत कोल्डस्टोर सञ्चालनमा आउन सकेको छैन ।’

धनगढी उपमहानगरपालिका–९ की कृर्षि खेतीमा संलग्न आलु समूहका अध्यक्ष कासीराम चौधरीले विगत लामो समयदेखि आलु खेती गर्दै आइरहेकाले आफूले उत्पादन गरिएका आलुको विउ राख्नका लागि पहिले कञ्चनपुर जिल्लास्थित महेन्द्रनगर बजार जानु परेको र हाल एक वर्षदेखि मसुरियामा रहेको कोल्डस्टोरमा जानु पर्ने बाध्यताले समय र पैसा दुबै खर्च हुने गरेको गुनासो गर्नु भयो ।
धनगढी उपमहानगरपालिका–९ की कृषक सुनिता चौधरी नजिकै कोल्डस्टोर नभएकोले टाँढाको कोल्डस्टोरमा विउ राख्न जानु पर्ने बाध्यता रहेको बताउनु भयो ।
पहुँचयुक्त स्थानमा चिस्यान गृह नहुँदा अन्नबालि तथा तरकारीको बिउ राख्न कञ्चनपुर जिल्ला वा मसुरिया पुग्नु पर्ने बाध्यताले खेती गर्ने समयमा बिउ ल्याउन बिभिन्न समस्या झेल्नु परेको उहाँले बताउनु भयो ।
धनगढी उपमहानगरपालिका—१० का बल्ले चौधरीले कोल्डस्टोर नजिकै नभएका कारण विउ ढुवानी खर्च बढी लाग्ने गरेको र अनुकुल समयमा बिउ ल्यान नसक्दा खेतीमा बिभिन्न समस्या देखा पर्ने गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो—‘घरमै स्टोर गरेर राखेको विउ बिग्रिने भएकाले जति भए पनि कोल्डस्टोरमा गएर राख्नै पर्ने हुन्छ । राख्नका लागि धेरै टाँढा जानु पर्छ । ढुवानी खर्च बढी लग्छ ।’

गोदावरी नगरपालिकाका कृर्षि तथा सहकारी शाखाका प्रमुख दिव्यराज जोशीले अत्तरियामा रहेको कोल्डस्टोरमा आवश्यक उपकरण जडानको कार्य सम्पन्न भए पनि बिद्युत जडानको काम बाँकी रहेकाले विजुली जडान हुने बित्तिकै सञ्चालनमा आउने बताउनु भयो ।
अत्तरियाको कोल्डस्टोरसँगै सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकारको लगानीमा बिभिन्न जिल्लामा १० ओटा कोल्डस्टोर लामो समयदेखि निर्माणाधिन र निर्माण सम्पन्न भइसकेका भए पनि सञ्चालनमा आउन नसकेका तथा अलपत्र परेका कोल्डस्टोरको अनुगमन गरी कागजात माग गरिएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले बताउनु भयो ।
उहाँले भन्नुभयो— ‘कोल्डस्टोरको निर्माण कार्यविधि, ठेक्का सम्झौता सहित सम्पूर्ण कागजात पेश गर्न निर्देशन दिइएको छ । केही कोल्डस्टोरको निर्माण खर्च भएको बेरुजु समेत देखिएकाले बेरुजुको विवरण समेत पेश गर्न निर्देशन दिएका छौँ । भूमी व्यवस्था तथा कृर्षि सहकारी मन्त्रालय र कृर्षि विकास निर्दाशनालयसँग फलफल गरिरहेका छौँ ।’
भूमी व्यवस्था तथा कृर्षि सहकारी मन्त्रालयका निमित्त सचिव गोकुल बोहराले मन्त्रालयको मातहतमा रहेका योजनाहरु कार्यान्वय गर्दा स्थानीय जनप्रतिनिधिहरुले विरोध गर्ने र अघिल्लो कार्यकालका जनप्रतिनिधिहरुले गरेको सम्झौता नयाँ नजप्रतिनिधिहरुले नमानिदिदा समस्या हुने गरेको बताउनु भयो ।