तिला गाउँपालिका सुत्केरी महिलाले लामो समयदेखि पोषण र प्रोत्साहन भत्ता पाउनबाट वञ्चित भएका छन् । स्वास्थ्य संस्थामा (बर्थिङ सेन्टर) सुत्केरी भएका महिलालाई यातायात बापत प्रोत्साहन भत्ता ३ हजार रुपियाँ र नियमित स्वास्थ्य संस्थामा गर्भ चेकजाँच गरेबापत ८ सय रुपियाँ दिने व्यवस्था छ । यस्तै कर्णाली प्रदेश सरकारले स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलालाई पोषण भत्ता दिने व्यवस्था गरेको छ ।
प्रोत्साहन र पोषण भत्ता नपाएको तिला गाउँपालिकास्थित जुम्लाकोट गाउँकी रस्मिता रावतले बताउनु भयो । उहाँले भन्नुभयो – ‘चालु आर्थिक वर्ष साउनदेखि स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाले पोषण र प्रोत्साहन भत्ता पाएका छैनन् । संस्थागत सुत्केरी गरी मातृ र नवजात शिशुको स्वास्थ्य सुरक्षाको लागनी हुने गरे पनि समयमा पोषण र प्रोत्साहन भत्ता सुत्केरी महिलाले पाउने गरेका छैनन् ।’ जुम्लाकोट स्वास्थ्य चौकी इन्चार्ज विराजु जिसीले सुत्केरी महिलालाई डिस्चार्ज गर्ने बेलामा पोषण र यातायात बापतको प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने बताउनु भयो । तर, चालु आर्थिक वर्षको माघ मसान्तसम्म सुत्केरी भएका महिलालाई उपलब्ध गराउन नसकिएको उहाँको भनाइ छ ।
उहाँका अनुसार गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत फेरबदल हुने र समयमा भुक्तानी नहुने भएकाले पनि यो समस्या हुने गरेको छ । उहाँले भन्नुभयो – ‘स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठक बसी निर्णय गरेका छौँ । अब छिट्टै गाउँपालिकाबाट भुक्तानी लिएर सुत्केरी महिलालाई पोषण र प्रोत्साहन भत्ता वितरण गर्नेछौँ ।’ चालु आर्थिक वर्षको २६ जना सुत्केरी महिलाले भत्ता नपाएको उहाँले उल्लेख गर्नुभयो । आर्थिक वर्ष २०७९/८० मा ३७ जना, आर्थिक वर्ष २०८०/८१ मा ३३ जना र चालु आर्थिक वर्ष ०८१/८२ को माघ मसान्तसम्म २६ जना गरी जम्मा ८८ जनाले बर्थिङ सेन्टरमा सुत्केरी गराएका छन् । सोही तीन वर्ष भित्र १६ जनालाई रेफर गरिएको स्वास्थ्य चौकीका इन्चार्ज जिसीले बताउनु भयो ।
त्यस्तै, तिला गाउँपालिका–९ मा रहेको राँसा स्वास्थ्य चौकीमा आर्थिक वर्ष २०७९/८० मा १९ जना, २०८०/८१ मा १८ जना र चालु आर्थिक वर्ष ०८१/८२ माघमा ६ जना गरी जम्मा ४३ जना बर्थिङ सेन्टरमा सुत्केरी भएको स्वास्थ्य चौकीमा इन्चार्ज दत्त रावतले बताउनु भयो । दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुदाँ सेवा प्रवाहमा समस्या हुने गरेको छ । पालिकाकाले स्थायी दरबन्दीमा करार नियुक्ति गर्दै आएको राँसा स्वास्थ्य चौकीले जनाएको छ । रारालिही स्वास्थ्य चौकीका अधिकृतं हिमाली खत्रीका अनुसार आर्थिक वर्ष २०७९/८० मा ४० जना र गत आर्थिक वर्ष ०८०/८१ मा २२ जना गरी जम्मा ६२ जनाले बर्थिङ सेन्टरबाट सुत्केरीले सेवा लिएका छन् । यो चालु आर्थिक वर्षको माघसम्म बर्थिङ सेन्टर बन्द हुँदा सुत्केरीले सेवा लिनबाट वञ्चित भएको स्वास्थ्य चौकीका अधिकृत खत्रीको भनाइ छ ।